08/12/2026, 20:53:12
बुधबार, साउन २७, २०८३
तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता दिवस–२०२६

मातृभाषा पत्रकारिता समावेशी लोकतन्त्र र अधिकारसँग जोडिएको छ: सुनिता डंगोल

काठमाडौँमा आयोजित ‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता दिवस–२०२६’ को तीन दिने सम्मेलन आठ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न।

File Photo
©File Photo

काठमाडौँ, साउन २७ गते । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुनिता डंगोलले मातृभाषा पत्रकारिता एवम् भाषिक अधिकार समावेशी लोकतन्त्रसँग जोडिएको बताउनुभएको छ। आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) द्वारा आयोजित ‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता दिवस–२०२६’ को समापन समारोहमा बोल्दै उहाँले मातृभाषा पत्रकारिता केवल कुनै एक समुदायको विषय नभई अभिव्यक्ति स्वतन्त्रता र सांस्कृतिक अधिकारसँग प्रत्यक्ष सम्बन्धित रहेको स्पष्ट पार्नुभयो।

कार्यक्रममा महानगरपालिकाले स्थानीय भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्धनका लागि स्थानीय पाठ्यक्रम मातृभाषामै लागू गरिसकेको जानकारी दिइएको थियो। सो अवसरमा प्रेस काउन्सिल नेपाल, फोनिजका प्रतिनिधि तथा विभिन्न सञ्चार सम्बद्ध संस्थाका प्रतिनिधिहरूले मातृभाषी पत्रकारहरू नागरिक र सरकारबीचको मुख्य संवाहक रहेकाले राज्य स्तरबाटै उनीहरूका लागि उपयुक्त नीतिगत पहल र प्रोत्साहन हुनुपर्नेमा जोड दिएका थिए।

साउन २५ गतेदेखि सुरु भएको तीन दिने सम्मेलनमा मातृभाषी पत्रकारका नीतिगत सवालमा सरोकारवालाहरूबीच व्यापक छलफल भएको थियो। भारत, श्रीलंका, साउदी अरब, भुटान लगायतका देशका प्रतिनिधिहरूको समेत सहभागिता रहेको सो अन्तर्राष्ट्रिय सम्मेलनले मातृभाषा पत्रकारिताको संरक्षण, सम्वर्द्धन र विकासका लागि आठ बुँदे घोषणापत्र जारी गर्दै कार्यक्रम समापन गरेको छ।