ढाका, साउन २५ गते । बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रत्यर्पण (फिर्ता) प्रक्रिया छिटो अघि बढाउन भारतलाई पुनः आग्रह गरेको छ।
ढाकास्थित प्रधानमन्त्री कार्यालयमा सोमबार आयोजित शिष्टाचार भेटमा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान र भारतका नवनियुक्त उच्चायुक्त दिनेश त्रिवेदीबीच हसिनाको प्रत्यर्पणका साथै दुई देशबीचका अन्य महत्त्वपूर्ण द्विपक्षीय विषयमा गहन छलफल भएको छ। सन् २०२४ को विद्यार्थी आन्दोलनपछि पदबाट हट्नुभएकी हसिना त्यसयता भारतमा रहँदै आउनुभएको छ।
भेटका क्रममा बङ्गलादेशले सन् २०२५ डिसेम्बर १२ मा गोली हानी हत्या गरिएका जुलाई आन्दोलनका प्रमुख व्यक्तित्व शाहिद उस्मान हादीका आरोपीलाई पनि भारतबाट फिर्ता ल्याउने विषय दोहोर्याएको छ। प्रधानमन्त्री रहमानले दुवै देशबीचको सम्बन्धलाई थप सुदृढ र सहज बनाउन अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो। यस भेटलाई पछिल्लो समय ढाका र नयाँदिल्लीबीच देखिएको कूटनीतिक चिसोपना र संवादको निरन्तरताका हिसाबले निकै महत्त्वका साथ हेरिएको छ।


हसिनाले हालै नयाँदिल्लीबाट गरेको भर्चुअल सम्बोधनप्रति बङ्गलादेशको विदेश मन्त्रालयले कडा आपत्ति जनाएको थियो। उक्त अभिव्यक्तिले जनभावनामा असर पारेको र सम्बन्ध सुधारमा जटिलता थपेको ढाकाको ठहर छ। यता, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भने उक्त कार्यक्रम निजी सञ्चार संस्थाले आयोजना गरेको र त्यसमा भारत सरकारको कुनै संलग्नता वा समर्थन नरहेको स्पष्ट पारिसक्नुभएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



























