08/17/2026, 07:15:48
सोमबार, भदौ ०१, २०८३

अभिषेक गिरीविरुद्ध ठगी अभियोग, जिल्ला अदालतमा मुद्दा दायर


काठमाडौँ, साउन १६ गते । विवादित पृष्ठभूमिका व्यवसायी तथा नेपाली कांग्रेसका नेता अभिषेक गिरीविरुद्ध २१ करोड ३२ लाख ७६ हजार ५ रुपियाँ ठगीको आरोपमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। व्यवसायी सुभास श्रेष्ठको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो।

हुलाकी राजमार्ग अन्तर्गत हाटखोला-रङ्गेली सडक खण्डको ठेक्कामा श्रेष्ठको कम्पनीको बाँकी ७८ प्रतिशत काम गर्ने सम्झौता गरेर गिरीले काम नगरी ठगी गरेको अभियोग छ। साथै, गिरीले धम्क्याएर श्रेष्ठको घरसमेत कब्जामा लिएको जाहेरीमा उल्लेख छ।

सम्झौता अनुसार काम नगरी ठूलो हानिनोक्सानी पुर्‍याएकाले सो रकम श्रेष्ठलाई भराउन अभियोगपत्रमा मुख्य मागदाबी गरिएको छ। पटके कसुरदार गिरी यसअघि अपहरण तथा सङ्गठित अपराधमा ९ वर्ष कैद सजाय भुक्तान गरिसकेका व्यक्ति भएकाले उनलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम थप सजायको समेत माग गरिएको छ।