१ घण्टा अगाडी


नेपालको ज्येष्ठ तथा ऐतिहासिक प्राज्ञिक संस्था त्रिभुवन विश्वविद्यालयले आज ६७ औं वार्षिकोत्सव मनाएको छ । कीर्तिपुरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा विश्वविद्यालयका कुलपति सास्मित पोखरेलले विश्वविद्यालयको झण्डोत्तोलन गरेका थिए ।
सो अवसरमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले शुभकामना सन्देश प्रदान गर्दै विश्वविद्यालय परिवारप्रति हार्दिक शुभकामना व्यक्त गरे । उनले विश्वविद्यालयले ज्ञानको सृजना, अनुसन्धानको प्रवर्द्धन, दक्ष जनशक्ति उत्पादन तथा राष्ट्रिय विकासमा पु¥याएको योगदानको चर्चा गर्दै विगतका वर्षहरूजस्तै यस वर्ष पनि विश्वविद्यालयअन्तर्गतका चार सङ्काय र पाँच संस्थानअन्तर्गत रहेका विभिन्न क्याम्पस, केन्द्रीय विभाग र सम्बद्ध विद्यालयहरूले प्रदान गर्ने शैक्षिक कार्यक्रमहरूप्रति विद्यार्थीहरूको आकर्षण र विश्वास बढ्दै गएको बताए ।
उपकुलपति थापाले विश्वविद्यालयको शैक्षिक, अनुसन्धानात्मक तथा प्रशासनिक संरचनालाई अझ सुदृढ बनाउन आवश्यक रहेको धारणा राख्दै गुणस्तरीय शिक्षा, समयानुकूल पाठ्यक्रम, प्रभावकारी शैक्षिक क्यालेन्डर, अनुसन्धानमुखी शैक्षिक वातावरण, अत्याधुनिक पूर्वाधार तथा सुशासनमा आधारित व्यवस्थापन प्रणालीलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारे । उनले सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी उपयोग, शैक्षिक कार्यक्रमको पुनर्संरचना, अनुसन्धान तथा नवप्रवर्तनको प्रवर्द्धन, अन्तरविषयक सहकार्य, अनुसन्धान कोषको विस्तार तथा अन्तर्राष्ट्रिय साझेदारीको सुदृढीकरणलाई आगामी रणनीतिक प्राथमिकताका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा विश्वविद्यालयमा दीर्घकालीन सेवा पु¥याउने प्राध्यापक तथा कर्मचारीहरूलाई ‘दीर्घसेवा पदक’ प्रदान गरी सम्मान गरिएको थियो । सो अवसरमा उपकुलपति थापाले विश्वविद्यालयको वर्तमान अवस्था, प्रगति र भावी योजनाबारे जानकारी गराउँदै उत्कृष्ट शिक्षा, अनुसन्धान र नवप्रवर्तनमार्फत विश्वविद्यालयको शैक्षिक उन्नतिमा ध्यान केन्द्रित गरेको बताए ।
सन् १९५९ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालयमा हाल पाँच संस्थान, चार सङ्काय, ४० केन्द्रीय विभाग, ६४ वटा आङ्गिक क्याम्पस, एक हजार ५३ वटा सम्बद्ध क्याम्पस तथा चार अनुसन्धान केन्द्र रहेका छन् । विश्वविद्यालयमा हाल पाँच लाख विद्यार्थी अध्ययनरत रहेका छन् भने १६ हजार ६२ जना कर्मचारी कार्यरत रहेका छन् ।
६ दशकभन्दा लामो गौरवशाली इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयले बदलिँदो विश्वपरिवेश, वैज्ञानिक तथा प्राविधिक विकास, ज्ञानमा आधारित अर्थतन्त्र तथा विश्वव्यापी प्रतिस्पर्धाको मागलाई आत्मसात् गर्दै आफ्नो संरचनालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ । विश्वविद्यालयले राष्ट्रिय आवश्यकता र विश्वव्यापी श्रमबजारको मागअनुकूल दक्ष, सिर्जनशील, नैतिक तथा प्रतिस्पर्धी मानव संसाधन उत्पादनमा निरन्तर क्रियाशील रहने विश्वास दिलाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























