06/20/2026, 23:40:49
शनिबार, असार ०६, २०८३

काठमाडौँ महानगरको आगामी वर्षका लागि २५ अर्ब ८८ करोडको बजेट (विवरण सहित)


काठमाडौँ, असार ५ गते । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ। नगर सभाको १९ औँ अधिवेशनमा बिहीबार कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले उक्त बजेट पेस गर्नुभएको हो।

स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनको प्रावधान बमोजिम असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने व्यवस्था अनुसार महानगरले यो बजेट प्रस्तुत गरेको हो। चालू आर्थिक वर्ष २०८२/८३ मा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपियाँको बजेट ल्याएको महानगरले आगामी वर्षका लागि बजेटको आकार केही बढाएको छ। चालू आवमा हालसम्म ११ अर्ब २९ करोड २९ लाख ३८ हजार रुपियाँ (कुल बजेटको ४५ प्रतिशत) खर्च भएको महानगरले जनाएको छ।

blog

बजेटको स्रोत व्यवस्थापन

महानगरले आगामी वर्षको बजेटका लागि निम्नानुसार स्रोत व्यवस्थापन हुने अनुमान गरेको छ:

  • आन्तरिक आय र बैङ्क मौज्दात: २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपियाँ
  • सरकारी अनुदान (ससर्त, समानीकरण, राजस्व बाँडफाँट): ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपियाँ
  • जनसहभागिता: १ करोड रुपियाँ

क्षेत्रगत बजेट विनियोजन: पूर्वाधारमा सबैभन्दा बढी

महानगरपालिकाले यस पटक पनि पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै कुल बजेटको ६१ प्रतिशत हिस्सा छुट्याएको छ। क्षेत्रगत विनियोजन यस प्रकार छ:

क्षेत्रविनियोजित रकमबजेट हिस्सा (%)
पूर्वाधार विकास क्षेत्र१५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रु.६१%
कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रु.१८.८%
सामाजिक विकास क्षेत्र२ अर्ब ४२ करोड २७ लाख ३१ हजार रु.९.६%
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रु.८.५%
आर्थिक विकास क्षेत्र५४ करोड १८ लाख २० हजार रु.२.१%

बजेटका मुख्य प्राथमिकता र कार्यक्रमहरू

  • पूर्वाधार र वातावरण: फोहोरमैला व्यवस्थापन, प्रदूषण नियन्त्रण र सार्वजनिक यातायात व्यवस्थापनलाई उच्च प्राथमिकता।
  • शिक्षा र स्वास्थ्य: विद्यालय शिक्षा प्रणालीमा सुधार तथा सहरी स्वास्थ्य प्रवर्धन केन्द्रको क्षमता वृद्धि।
  • रोजगारी: ‘एक वडा एक उद्यम’ कार्यक्रममार्फत रोजगारी र आय वृद्धि गर्ने लक्ष्य।
  • सम्पदा संरक्षण: महानगरभित्रका ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्त्वका मठ, मन्दिर, बहाल, पोखरी र हिटीहरूको संरक्षण।
  • घरदैलोमा सेवा: अपाङ्गता भएका, अशक्त तथा ज्येष्ठ नागरिकहरूका लागि घरघरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन बजेटको व्यवस्था।

करदातालाई विशेष सहुलियत: असोजसम्म बुझाए १०% छुट

महानगरपालिकाले राजस्व असुलीलाई प्रभावकारी बनाउन र करको दायरा बढाउन विशेष छुटको घोषणा गरेको छ:

१० प्रतिशत छुट र जरिबाना मिनाहा: आगामी आव २०८३/८४ मा करको दायरामा नआएका करदाताहरूले असोज मसान्तभित्र कर बुझाएमा १० प्रतिशत छुट दिइनेछ। साथै, सोही अवधिभित्र बक्यौता कर चुक्ता गरेमा जरिबाना पूर्ण रूपमा मिनाहा गरिनेछ।

  • घरबहाल करमा कटौती: आवासीय प्रयोजनका लागि वार्षिक २ लाख ४० हजार रुपियाँभन्दा कम बहाल आम्दानी भएमा ५ प्रतिशत कर लाग्नेछ। सोभन्दा बढी आम्दानी हुनेको हकमा साबिकको १० प्रतिशत करलाई घटाएर ७ प्रतिशत कायम गरिएको छ।
  • निःशुल्क सिफारिस: करप्रतिको अपनत्व बढाउन केही शीर्षकहरूमा सिफारिस दस्तुर पूर्ण रूपमा निःशुल्क गरिएको छ।
  • नयाँ करदाता पहिचान: व्यवसाय स्थलमै गएर समन्वय र सहजीकरण गर्दै नयाँ करदाता पहिचान गर्न विज्ञसहितको टोली परिचालन गरिने महानगरले जनाएको छ।