06/16/2026, 10:29:49
मङ्गलबार, असार ०२, २०८३

अमेरिका र इरानबिच युद्ध अन्त्य गर्ने ऐतिहासिक सहमति, शुक्रबार स्विट्जरल्यान्डमा अन्तरिम सम्झौता हुने


काठमाडौँ, असार २ गते । अमेरिका र इरान वर्षौँदेखिको युद्ध र सैन्य तनाव अन्त्य गर्न सहमत भएका छन् । लामो कूटनीतिक प्रयासपछि दुवै मुलुक युद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर गर्न तयार भएका हुन् । आउँदो शुक्रबार स्विट्जरल्यान्डमा दुवै देशबिच अन्तरिम सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।

दुवै मुलुकका नेताले अन्तरिम सम्झौतामा सहमति भएको समाचार सोमबार सार्वजनिक गरेका छन् । यो सम्झौता कार्यान्वयनमा आएसँगै विश्वबजारमा तेल र प्राकृतिक ग्यास आपूर्ति पुनः सहज भई ऊर्जा सङ्कटको जोखिम घट्ने तथा विश्व अर्थतन्त्रमा स्थिरता आउने अपेक्षा गरिएको छ ।

सम्झौताको पूर्ण विवरण गोप्य, ६० दिनको समयसीमा

यद्यपि सम्झौताका पूर्ण विवरण तत्काल सार्वजनिक गरिएको छैन । इरानले भने औपचारिक हस्ताक्षर नभएसम्म कुनै पनि प्रावधान कार्यान्वयनमा नल्याइने स्पष्ट पारेको छ । प्रमुख मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पाकिस्तानका अनुसार सम्झौतामा आउँदो शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर हुने जानकारी गराएको छ । यो सहमतिले पश्चिम एसियामा हजारौँको ज्यान लिएको युद्ध अन्त्य गर्न मार्गप्रशस्त गर्ने विश्लेषण गरिएको छ ।

सम्झौता अन्तर्गत सबैभन्दा जटिल विषय इरानको अत्यधिक समृद्ध युरेनियम भण्डार र आणविक कार्यक्रमको भविष्य के हुने भन्ने हो । यस विषयमा समाधान खोज्न दुवै पक्षलाई ६० दिनको समय दिइएको छ । सन् २०१५ मा भएको आणविक सम्झौतामा यस्ता विषय टुङ्ग्याउन बर्सौं लागेको थियो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उक्त सम्झौताबाट अमेरिका बाहिरिएको निर्णय गरेपछि तनाव क्रमशः बढ्दै युद्धको अवस्थामा पुगेको हो ।

गत फेब्रुअरी २८ मा अमेरिका इजरायलसँग मिलेर इरानमाथि आक्रमण गरेसँगै दुई देशबिच युद्ध सुरु भएको थियो।

नाकाबन्दी र जलमार्ग खुलाउने ट्रम्पको घोषणा

ह्वाइट हाउसमा आफ्नो ८० औँ जन्मदिनका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्धविराम प्रयासलाई स्वागत गर्दै हर्मुज जलमार्ग खुलाउन तथा अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने आदेश दिएको घोषणा गर्नुभएको थियो। तर उहाँले शुक्रबार औपचारिक हस्ताक्षर नभएसम्म जलमार्ग पूर्ण रूपमा सञ्चालनमा नआउने पनि स्पष्ट पार्नुभएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ ।

इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले सरकारी टेलिभिजनमार्फत सम्झौतामा सहमति भएको पुष्टि गर्दै हस्ताक्षरपछि मात्रै कार्यान्वयन सुरु हुने बताउनुभयो । उहाँका अनुसार पाकिस्तान, कतारलगायतको मध्यस्थतामा भएको वार्तापछि यो समझदारी सम्भव भएको हो । इजरायलले भने यस विषयमा तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रभाव

सम्झौताप्रतिको आशाले अन्तर्राष्ट्रिय बजारमा तत्काल सकारात्मक प्रभाव देखिएको छ । बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल चार डलरभन्दा बढीले घटेको छ भने एसियाली सेयर बजारमा उल्लेख्य वृद्धि देखिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले सबै पक्षले लेबनानसहितका सबै मोर्चामा सैन्य गतिविधि स्थायी रूपमा अन्त्य गर्ने घोषणा गरेको जानकारी दिनुभएको थियो तर इजरायलले यस विषयमा औपचारिक सहमति जनाएको छ वा छैन भन्ने अझै स्पष्ट छैन ।

पाकिस्तानी अधिकारीका अनुसार आगामी ६० दिनभित्र इरानको आणविक कार्यक्रमलगायत बाँकी विवादित विषयमा व्यापक वार्ता हुने छ । आवश्यक परे समयसीमा थप लम्ब्याउन सकिने पनि जनाइएको छ । इरानी सरकारी सञ्चार माध्यमले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई उद्धृत गर्दै युद्ध तत्काल अन्त्य हुने र अमेरिकी नाकाबन्दी पूर्ण रूपमा हटाइने जनाएको छ ।

विश्व समुदायद्वारा सहमतिको स्वागत

अमेरिका र इरानबिच सबै मोर्चामा सैन्य कारबाही अन्त्य गर्ने सहमति सार्वजनिक भएपछि विश्व समुदायले त्यसलाई पश्चिम एसियामा स्थायित्व ल्याउने सम्भावित अवसरका रूपमा लिएको छ । संयुक्त राष्ट्रसङ्घदेखि युरोप, खाडी क्षेत्र र एसिया–प्रशान्तका मुलुकले सम्झौताको स्वागत गर्दै यसको सफल कार्यान्वयनमा जोड दिएका छन् ।

  • संयुक्त राष्ट्रसङ्घ: महासचिव एन्टोनियो गुटेर्रेसले सहमतिलाई द्वन्द्वको शान्तिपूर्ण समाधानतर्फको महत्वपूर्ण कदमको संज्ञा दिनुभएको छ । उहाँले संवाद र कूटनीतिक प्रयासलाई दीर्घकालीन शान्तिको आधार मान्दै सबै पक्षलाई सहमतिको पूर्ण कार्यान्वयनतर्फ अग्रसर हुन आग्रह गर्नुभयो ।

  • फ्रान्स र बेलायत: फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले हर्मुज जलमार्ग तत्काल, बिनासर्त सुरक्षित र स्वतन्त्र जलयातायातका लागि पुनः खोलिनुपर्नेमा जोड दिनुभएको छ ।

  • टर्की: राष्ट्रपति रिसेप तैयप एर्दोगनले सम्झौतामा औपचारिक हस्ताक्षर नहुँदासम्म सबै पक्षलाई संयम अपनाउन आग्रह गर्नुभएको छ ।

  • जापान: प्रधानमन्त्री साने ताकाइचीले हर्मुज जलमार्ग हुँदै सुरक्षित र स्वतन्त्र जलयातायात सुनिश्चित हुने अपेक्षा व्यक्त गर्नुभयो ।

  • अस्ट्रेलिया र न्युजिल्यान्ड: अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र विदेशमन्त्री पेनी वोङले अमेरिका र इरान दुवैलाई निरन्तर संयम र रचनात्मक संवाद कायम राख्न आग्रह गर्नुभएको छ । न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस लक्सनले हर्मुज जलमार्ग पुनः सञ्चालनमा आउनुले विश्व व्यापार मार्गलाई स्थिर बनाउने, इन्धन आपूर्ति सहज पार्ने तथा विश्व अर्थतन्त्रलाई गति दिने विश्वास व्यक्त गर्नुभएको छ ।