

सोलुखुम्बु, जेठ २१ गते । सगरमाथाको तेस्रो शिविर आसपासबाट बेपत्ता हुनुभएका ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाका पर्वतारोहण गाइड दावा शेर्पाको सकुशल उद्धार गरिएको छ ।
बिहीबार बिहान खुम्बु आइसफलस्थित कर्म्पन पोइन्ट नजिक आधार शिविरतर्फ अत्यन्त कमजोर अवस्थामा घिस्रिँदै ओर्लिरहेको अवस्थामा सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीले भेटेपछि तत्काल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
शेर्पा बेपत्ता भएपछि उहाँको खोजीका लागि बुधबार अल्टिच्युड एयरको हेलिकप्टर सो क्षेत्रमा परिचालन गरिएको भए पनि फेला पार्न सकेको थिएन । हेलिकप्टरले पाँच हजार दुई सय मिटर उचाइको सगरमाथा आधार शिविरदेखि तेस्रो शिविरभन्दा तलसम्म खोजी गरेको थियो ।


छ दिनपछि जीवितै फेला पर्नु आफैँमा चमत्कारिक घटना भएको पर्यटन व्यवसायीहरू बताउँछन् । सात हजार मिटरभन्दा माथिको उचाइमा अक्सिजनको कमी, अत्यधिक चिसो, हिमआँधी र थकानका बिच लामो समयसम्म जीवित रहन सक्नु असाधारण मानिन्छ ।
शेर्पाका हातका औँलामा हिउँका कारण क्षति पुगेको छ र थप उपचारका लागि उहाँलाई काठमाडौँ लगिएको छ । शेर्पा सगरमाथा आरोहणबाट फर्किने क्रममा गत जेठ १५ गते तेस्रो शिविर क्षेत्र आसपासबाट सम्पर्कविहीन हुनुभएको प्रहरीले जनाएको छ ।
– सन्तोष राउत
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










































