काठमाडौँ, जेठ २१ गते । आन्तरिक विवादबाट गुज्रिरहेको राप्रपा औपचारिक रूपमै फुटेको छ । बिहीबार महामन्त्री धवल शमशेर राणासहित नेताहरूले राप्रपा त्यागेको घोषणा गरेका हुन् ।
पार्टी छाड्नेमा शीर्ष नेतासहित १८३ जना रहेका छन् । राणासँगै उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशवराज श्रेष्ठ र कार्यसम्पाद समिति सदस्य नारायणप्रसाद कोइराला रहेका छन् । त्यस्तै यसअघि प्रवक्ताको जिम्मेवारी खोसिएका सगुन सुन्दर लावतीले पनि राप्रपा छाडेका छन् । पार्टी छाड्नेमा अधिकांश केन्द्रीय र प्रदेश सदस्य रहेका छन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै महामन्त्री राणाले नयाँ पार्टी छिट्टै घोषणा हुनेसमेत बताए । ४ वर्ष सकसपूर्ण अवस्थाबाट गुज्रिएको पनि उनको भनाइ छ । अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री राणाबीच रहेको लामो समयदेखिको द्वन्द्व फुटमा परिणत भएको हो ।


राप्रपाभित्र चार वर्षदेखि अध्यक्ष लिङ्देन र महामन्त्री राणा पक्षबीच द्वन्द्व हुँदै आएको थियो । संस्थापन पक्षले राणा सक्रिय राजाको पक्षमा भएको, संवैधानिक राजतन्त्रमा अघि बढ्ने पार्टीको नीतिविरुद्ध उभिएको, संगठन कमजोर पार्न खोजेको आरोप लगाउँदै आएको छ । राणा पक्षले भने अध्यक्षले स्वेच्छाचारी ढंगले फरक मत राख्ने नेता तथा कार्यकर्तालाई कारबाहीको ‘डण्डा’ चलाएको भन्दै त्यसविरुद्ध संघर्ष गरेको बताएको छ ।
गत चैतमा महामन्त्री राणाको नेतृत्वमा काठमाडौंमा भएको भेलाले एक साताभित्र महाधिवेशनको मिति घोषणा गर्न माग गरेको थियो । भेलाले अध्यक्ष लिङ्देनलाई ३ बुँदे पत्र लेखी जेठमा महाधिवेशन गर्नेगरी मिति तोक्न माग गरेको थियो । तर संस्थापन पक्षले महाधिवेशन नबोलाएको बताएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









































