06/04/2026, 23:25:49
बिहिबार, जेठ २१, २०८३

सिमकोट विमानस्थलमा एकैदिन एक सय सत्तरी उडान


हुम्ला, जेठ २१ गते । हुम्लाको सिमकोट विमानस्थलमा बुधबार एकैदिनमा १७० वटा उडान भएका छन् । पर्यटकीय सिजन सुरु भएसँगै पर्यटक आउने क्रम बढ्दा जहाज र हेलिकोप्टरले त्यतिको सङ्ख्यामा उडान गरेका हुन् ।

नेपालगन्ज–सिमकोट–नेपालगन्जका लागि हवाईजहाजले ५८ र हेलिकोप्टरले सिमकोट–हिल्सा–सिमकोटका लागि ११२ वटा उडान भर्दा मङ्गलबार मात्रै १७० वटा उडान भएको सिमकोट विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहले बताउनुभयो ।

हवाईजहाजले २९ वटा उडान नेपालगन्जबाट सिमकोट र त्यति नै सङ्ख्यामा सिमकोटबाट नेपालगन्जका लागि उडान भएका थिए । हेलिकोप्टरले सिमकोटबाट ५६ उडान हिल्साका लागि र त्यही सङ्ख्यामा हिल्साबाट सिमकोटका लागि उडान गरेको उहाँले बताउनुभयो । यी सबै उडानमा अधिकांश भारतीय धार्मिक पर्यटक छन् ।

गत वैशाख ३० गतेदेखि मानसरोवर कैलाशको दर्शनका लागि भारतीय धार्मिक पर्यटक हुम्लाको सदरमुकाम सिमकोट आउन सुरु गरेका थिए । सोही दिनदेखि सिमकोटबाट हिल्सातर्फ जान पनि सुरु भएको हो ।

यो तीन हप्ताको अवधिमा सबैभन्दा बढी उडान मङ्गलबार नै भएको जानकारी उहाँले दिनुभयो । यसका लागि सीता, तारा र समिट एयरका छ वटा जहाजले उडान भर्ने गरेका छन् भने छ वटा हेलिकोप्टर कम्पनीका हेलिकोप्टरले सिमकोटबाट हिल्साका लागि उडान भर्ने गरेका छन् । यो अवधिमा दुई हजार १२४ जना पर्यटक हुम्लामा भित्रिएका छन् ।