05/23/2026, 14:14:11
शनिबार, जेठ ०९, २०८३

अमेरिकी ग्रिन कार्डको आवेदन अब सम्बन्धित देशबाटै गर्नुपर्ने


काठमाडौँ, जेठ ९ गते । अमेरिकी ग्रिन कार्डका लागि आवेदन दिने विदेशीहरुले अब आफ्नै मुलुक फर्किएर यस प्रक्रिया अघि बढाउनुपर्ने भएको छ । युएस सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेस (युएससिआईएस) ले स्थानीय समय अनुसार शुक्रबार यस्तो घोषणा गरेको हो ।

यो परिवर्तन कहिलेदेखि लागू हुनेछ वा प्रक्रियामा रहेका आवेदनहरूलाई यसले असर गर्छ कि गर्दैन भन्नेबारे युएससीआईएसले केही खुलाएको छैन ।

विदेशीहरुले अमेरिकामै बसेर ग्रिन कार्डका लागि आवदेन दिने पाउने व्यवस्था छ । युएससीआईएसका पूर्व वरिष्ठ सल्लाहकार डग र्या‍न्डले झन्डै ६ लाख मानिसले हरेक वर्ष ग्रीन कार्डका लागि आवेदन दिने गरेको बताए । उनले नयाँ मानिसहरुलाई ग्रिन कार्ड र नागरिकता प्राप्तिबाट रोक्ने लक्ष्यले यस्तो घोषणा भएको बताए ।

अमेरिकामा अस्थायी बसोबास गरेर ग्रिन कार्ड लिन चाहेका विदेशीले अब आवेदन दिनका लागि अनिवार्य रुपमा उनीहरुको देश फर्कनुपर्नेछ,’ अमेरिकाको गृह सुरक्षा विभाग (डिएचएस) ले भनेको छ । यस निकायले युएससिआईएसलाई निगरानी गर्छ ।

अमेरिकामा विगत ६० वर्षदेखि ग्रिन कार्ड प्रक्रिया परिवर्तन भएको थिएन । विदेशीहरुले अमेरिकामै बसेर वा स्वदेश फर्केर सम्बन्धित कन्सुलेटमार्फत पनि ग्रिन कार्डको आवेदन दिन पाउने व्यवस्था थियो ।

तर, सन् २०२५ मा डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति बनेर आएयता एकपछि अर्को कडा आप्रवासन नीति ल्याइएको छ । ‘यो नीतिले कानुनका छिद्रहरुलाई प्रोत्साहन गर्नुको साटो हाम्रो आप्रवासन प्रणालीलाई कानुनको मर्मअनुरुप सञ्चालन गर्ने मनसाय राखेको छ ,’ डिएचएसले भनेको छ ।

काटो इन्स्टिच्युटका एक विश्लेषकका अनुसार झन्डै १० लाख आप्रवासीहरु अहिले अमेरिकामा ग्रिन कार्ड कुरेर बसेका छन् । शरणार्थीहरुका लागि सेवा दिदैं आएको एचआईएस नामक सहायता समुहले यस नियमले शरणार्थीहरु समस्यामा पर्ने जनाएको छ ।

यस नियमले दुव्यवर्हारमा परेका, संकटग्रस्त क्षेत्रका बालबालिकालाई फेरि उही खतरनाक ठाउँमा जान बाध्य गर्दैछ,’ एचआईएसले भनेको छ ।