05/22/2026, 14:02:13
शुक्रबार, जेठ ०८, २०८३

गर्मीले भारतमा बिजुली खपतको कीर्तिमान


नयाँदिल्ली, जेठ ८ गते ।भारतमा बढ्दो गर्मीका कारण शीतलन उपकरणको प्रयोग तीव्ररूपमा बढेपछि देशको बिजुली मागले लगातार नयाँ कीर्तिमान बनाएको छ । गर्मीबिच ऊर्जा उत्पादकले रेकर्ड स्तरमा विद्युत् उत्पादन गर्दै देशको अहिलेसम्मकै उच्च माग पूरा गरेका छन् । भारतको ऊर्जा मन्त्रालयका अनुसार बिहीबार लगातार चौथो दिन देशको चरम बिजुली मागले नयाँ सर्वकालिक उच्च रेकर्ड कायम गरेको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बिहीबार दिउँसो ३ः४५ बजे भारतको चरम बिजुली माग २७०.८२ गिगावाट पुगेको थियो, जुन सफलतापूर्वक आपूर्ति गरिएको बताइएको छ । उक्त समयमा राजधानी नयाँदिल्लीको तापक्रम ४५.३ डिग्री सेल्सियस पुगेको थियो । मन्त्रालयले यो स्तरलाई भारतको इतिहासकै सबैभन्दा उच्च चरम बिजुली मागको रूपमा वर्णन गरेको छ । यसअघि बुधबार २६५.४४ गिगावाटको रेकर्ड कायम भएको थियो, जसलाई एक दिनमै उछिन्दै नयाँ कीर्तिमान बनेको हो ।

ऊर्जा मन्त्रालयले बढ्दो तापक्रमका कारण एयर कन्डिसनर, कुलर तथा अन्य शीतलन उपकरणको प्रयोग अत्यधिक बढेकाले बिजुलीको माग अस्वाभाविक रूपमा चुलिएको जनाएको छ । मन्त्रालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणमा माग वृद्धिको मुख्य कारण यही भएको उल्लेख गरिएको छ । भारतको कुल विद्युत् उत्पादनमा अझै पनि थर्मल पावर, विशेष गरी कोइलामा आधारित उत्पादनको प्रभुत्व रहेको छ ।

हाल देशको कुल बिजुली उत्पादनमध्ये ६२ प्रतिशत हिस्सा कोइलाजन्य थर्मल पावरबाट प्राप्त भइरहेको मन्त्रालयले जनाएको छ । सौर्य ऊर्जाबाट २२ प्रतिशत, हावा र जलविद्युतबाट पाँच प्रतिशत तथा बाँकी अन्य स्रोतबाट उत्पादन भइरहेको छ । विश्वकै तेस्रो ठूलो हरितगृह ग्यास उत्सर्जक भारतले सन् २०७० सम्म ‘शुद्ध–शून्य उत्सर्जन’ हासिल गर्ने प्रतिबद्धता जनाएको भए पनि ऊर्जा सुरक्षाका लागि अझै कोइलामाथि ठूलो निर्भरता कायम रहेको देखिएको छ ।

रेकर्ड स्तरमा बिजुली उत्पादन भइरहेको सरकारी दाबीबिच सामाजिक सञ्जाल एक्समा धेरै प्रयोगकर्ताले भने आफ्ना क्षेत्रमा अझै पनि विद्युत् कटौती भइरहेको गुनासो गरेका छन् । अत्यधिक गर्मीका कारण पुराना विद्युत तार र ट्रान्सफर्मरमा अत्यधिक चाप परेर स्थानीय स्तरमा ब्ल्याकआउट हुने जोखिम बढिरहेको बताइएको छ ।

दक्षिण एसियाको एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतमा अप्रिलदेखि जुनसम्म तीव्र गर्मी सामान्य मानिए पनि पछिल्ला वर्षमा तापक्रमको तीव्रता र अवधि दुवै बढ्दै गएको छ । वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनका कारण तातो हावाका लहर अझ लामो, बारम्बार र खतरनाक बन्दै गएको निष्कर्ष निकालेका छन् ।

भारतको मौसम विभागका अनुसार बिहीबार उत्तर प्रदेश राज्यको बान्दा सहरमा अधिकतम तापक्रम ४७.६ डिग्री सेल्सियस मापन गरिएको थियो । यो हप्ताको सुरुआतमा त्यही क्षेत्रमा पुगेको ४८.२ डिग्री सेल्सियसभन्दा केही कम भए पनि अवस्था अझै अत्यन्त गर्मीपूर्ण रहेको विभागले जनाएको छ । भारतमा हालसम्म आधिकारिकरूपमा मापन गरिएको सबैभन्दा उच्च तापक्रम राजस्थानको फलोदीमा सन् २०१६ मा रेकर्ड गरिएको ५१ डिग्री सेल्सियस हो ।

यसैबिच, अन्तर्राष्ट्रिय वायु गुणस्तर अनुगमन प्लेटफर्म ‘एक्युआई’ ले अप्रिलमा सार्वजनिक गरेको प्रतिवेदनमा विश्वका सबैभन्दा तातो ५० सहरमध्ये सबै भारतमै रहेको उल्लेख गरेको थियो । तापक्रम, सौर्य विकिरण, हावाको अवस्था, वर्षा र आद्र्रतासहितका विभिन्न सूचकलाई आधार बनाएर तयार गरिएको दैनिक ‘गर्मी सूचकाङ्क’ मा भारतीय सहर अत्यधिक तापको चपेटामा परेको देखाइएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..