05/04/2026, 21:04:01
सोमबार, बैशाख २१, २०८३

तामिलनाडुमा ‘विजय थलपति’ को उदय


काठमाडौं, वैशाख २१ गते । भारतमा चारवटा राज्य तथा केन्द्र शासित प्रदेश पुड्डुचेरीमा अप्रिल महिनामा सम्‍पन्‍न विधानसभा निर्वाचनको मतगणना जारी छ । मंगलबार सुरु भएको मतगणनाअनुसार पश्चिम बंगाल र आसाम राज्यमा भारतीय जनता पार्टी (भाजपा), पड्डुचेरी प्रदेशमा भाजपा सम्मिलित एनडिए गठबन्धन र केरला राज्यमा कंग्रेस आई सम्मिलित युडिएफ गठबन्धन अघि छन् ।

तर सबैभन्दा रोचक नतिजा तामिलनाडु राज्यमा देखिएको छ । यहाँ अभिनयबाट राजनीतिमा प्रवेश गरेका विजय थलपति नेतृत्वको तमिलागा भेट्ट्री कजंगम (टिभिके) ले २ सय ३४ विधानसभा सिटमध्ये कम्तिमा १ सय ५ सिटमा अग्रता बनाएको छ । दुई परम्परागत शक्ति द्रविड्म मुनेत्र कडंगम (डिएमके) र अल इन्डिया अन्न द्रविड्म मुनेत्र कडंगम (एआईएडिएमके) क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । डिएमकेले झन्डै ५० र एआईएडिएमकेले झन्डै ४० क्षेत्रमा अग्रता लिइरहेका छन् ।

तामिलनाडुका मुख्यमन्त्री तथा डिएमकेका नेता एमके स्टालिन कोलाथुर निर्वाचन क्षेत्रमा टिभिकेका उम्मेदवार भीएस बाबुसँग पराजित भएका छन् । चुनावी अभियानमा ‘विजय आउनेछन्’ नारा दिइएको थियो । जसलाई पुराना दलहरुले सामान्य ठाने । तर नतिजा, यस्तै आयो ।

५१ वर्षीय विजयको पूरा नाम चन्द्रशेखर जोसेफ विजय  हो । उनलाई फ्यानहरूले विजय थलपति  भन्छन् । तमिल भाषामा थलपतिको अर्थ कमाण्डर वा नेता हो ।

विजयका बाबु एसए चन्द्रशेखर फिल्म निर्देशक र आमा साहित्री शोभा गायिका हुन् । उनले १९८४ मा आफ्नै बाबुको निर्देशनमा बनेको फिल्म ‘भेत्री’ बाट बाल-कलाकारका रूपमा सिनेमा यात्रा थालेका थिए । सन् १९९२ मा बाबुकै निर्देशनमा बनेको होम प्रडक्सनको ‘नालैय्या थेरपु’ मार्फत मुख्य अभिनेताका रूपमा पर्दामा देखिए । फिल्म असफल भएपनि उनका लागि महत्वपूर्ण सिकाइ बन्यो ।

१९९० को दशकको अन्त्यतिर उनी दक्षिण भारतमा रोमान्टिक चलचित्रहरुमा गरेको भूमिकाले लोकप्रिय थिए । सन् २००४ मा प्रदर्शनमा आएको एक्सन फिल्म घिल्ली को सफलताले तामिल फिल्म उद्योगमा उनको उचाई निकै बढ्यो ।

उनले त्यसयता पोक्किरी (२००७), थुप्पाक्की (२०१२), थलाकथ्थी २०१५), मर्शल  २०२७ र लियो (२०२३) जस्ता ब्लकबस्टर फिल्म खेले । आफ्नो करियरमा ७० भन्दा धेरै फिल्म खेलेका विजयले २ फेब्रुअरी २०२४ मा सक्रिय राजनीतिमा आउने घोषणा गरे । गत वर्ष २७ डिसेम्बरमा फिल्म क्षेत्रबाट सन्यास लिएको घोषणा गरेका थिए । बढ्दो राजनीतिक सक्रियताका कारण फिल्म क्षेत्रमा पर्याप्त ध्यान दिन नसकेको उनले बताएका थिए । उनले पछिल्लोपटक अभिनय गरेको फिल्म ’जन नायगन’ रिलिज हुनै बाँकी छ ।

लामो समयदेखि सामाजिक अभियानमा जोडिएका विजयको छोटो राजनीतिक करियर उतार–चढावपूर्ण छ । गत वर्ष सेप्टेम्बरमा करूरस्थित उनको पार्टीले आयोजना गरेको एक र्‍यालीमा भागदौड हुँदा ११ बालबालिकासहित ४१ जना मारिए । भागदौड हुनासाथ कार्यक्रमस्थलबाट निस्किएपछि उनको ठूलो विरोध भएको थियो ।

आलोचकहरुले उनको नेतृत्व शैलीमाथि प्रश्न उठाउँदै उनको लडाकु स्वभाव सिनेमाको पर्दामै सिमित रहेको बताएका थिए । गत फेब्रुअरीमा उनकी पत्नीले दुव्र्यवहार र धोकाको आरोपसहित सम्बन्धविच्छेदको प्रक्रिया सुरु गरेकी थिइन् । यस्ता व्यक्तिगत प्रश्न र विवादका बाबजुद विजयले आफ्नो राजनीतिक गतिविधि जारी राखे । उनी पार्टीको संगठनात्मक संरचना मजबुत बनाउन र आफ्नो स्टार छविको प्रयोग गरेर मतदाता रिझाउन व्यस्त थिए ।

हाम्रा नेताको तुलना सुपरस्टार रजनिकान्तबाहेक अरु कसैसँग गर्न मिल्दैन,’  टिभिकेका महासचिव केजी अरुणराजले केही समयअघि द हिन्दूसँग भनेका थिए,  ’उनले करियरको उच्चमा छँदा सिनेमा क्षेत्र त्यागेर जनताको सेवा गर्ने सोच बनाएका छन् । त्यहीकारण मानिसहरुलाई उनीप्रति भरोसा छ ।

विजयले आफ्नो पार्टी टिभिकेको घोषणामा भाजपालाई ‘वैचारिक शत्रु’  र डीएमकेलाई ‘राजनीतिक शत्रु’ करार गरेका छन् । उनले आफ्नो चुनावी अभियानका क्रममा डीएमकेका नेता तथा मुख्यमन्त्री एमके स्टालिनलाई ‘काका’ भन्दै उडाए । जेन-जी पुस्ताको भावनालाई डिएमके र एआईएडिएमके प्रतिनिधित्व गर्न नसक्ने उनको दाबी थियो ।

टिभिकेले यस चुनावमा युवा, महिला र मछुवार समुदायका मुद्दा उठाएका थियो । आठ प्रकारका छानिएका माछाका लागि पहिलोपटक न्यूनतम समर्थन मूल्य (एमएसपी) घोषणा, माछा मार्न नपाइने समयमा राहत व्यवस्था, सहुलियतमा डिजेल, बीमा कभरेज र आवास समर्थन जस्ता लोकप्रिय नारा उनको घोषणापत्रमा उल्लेख थियो । कक्षा १२ देखि विद्यावारिधिसम्म पढ्नेलाई बिना धितो २५ लाख ऋण दिइने विषय पनि पार्टीको घोषणापत्रमा उल्लेख थियो ।

महिलामैत्री योजनाहरूमा प्रत्येक परिवारका लागि वार्षिक ६ वटा एलपीजी सिलिन्डर सित्तैमा, मासिक २५ सय रूपैयाँ वितरण र विवाह सहायता योजना अन्तर्गत ८ ग्राम सुन वितरण जस्ता प्रावधानः उल्लेख छन् ।

विजयको उदयले तामिलनाडुमा दुई द्रविडियन पार्टीहरु डिएमके र एआईएडिएमकेको वर्चश्वको राजनीतिमा ब्रेक लागेको छ । द्रविडियन राजनीति सुरु हुनअघि तमिलनाडुमा ( तत्कालीन समय मद्रास राज्य) १९४७ देखि १९६७ सम्म कंग्रेस आईको सरकार थियो । द्रविडियन राजनीति सुरु भइसकेपछि (१९८८–१९८९) मा छोटो अवधि छाडेर बाँकी सबै समय डिएमके र एआईएडिएमके मध्ये एकले यहाँ सरकार बनाएका थिए ।