काठमाडौँ, वैशाख २१ गते । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई सुरक्षित र सम्मानित ढंगले काम गर्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।
महासंघको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सरकारले हालै पारित गरेको निजी क्षेत्र प्रवर्धन एवं संरक्षण रणनीतिको स्वागत गर्दै निजी क्षेत्र सुरक्षित र सम्मानित नभएसम्म मुलुकले आर्थिक फड्को मार्न नसक्ने बताउनुभयो । उहाँले उक्त रणनीतिले उद्यमीहरूको मनोबल बढाउनुका साथै भौतिक र नीतिगत सुरक्षाको प्रत्याभूति दिने विश्वास व्यक्त गर्नुभयो ।
गत फागुन २१ गतेको निर्वाचनपछि झण्डै दुईतिहाइ बहुमतको स्थायी सरकार गठन हुनुलाई अध्यक्ष ढकालले मुलुकको विकासका लागि अभूतपूर्व अवसरका रूपमा व्याख्या गर्नुभयो । नीतिगत स्थायित्वका लागि सर्वदलीय सहमति खोजिरहेको अवस्थामा संसदमा एकै दलको बलियो उपस्थिति सकारात्मक अवसर भएको उहाँको भनाइ थियो । उहाँले मुलुकको जनसांख्यिक लाभ र छिमेकी चीन तथा भारतको विशाल बजारको उपयोग गर्दै देशभित्रै उच्च ज्यालासहितको रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष ढकालका अनुसार हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवालाई रोजगारी दिने क्षमता अहिले नेपालको निजी क्षेत्रमा छैन । नयाँ र पुराना गरी वर्षमा करिब सात लाख युवा रोजगारीको खोजीमा विदेशिने गरेको उहाँले बताउनुभयो ।
“देशभित्रै मर्यादित र उच्च ज्यालासहितको रोजगारी सिर्जना नगरेसम्म निराशालाई आशामा बदल्न सकिँदैन,” उहाँले भन्नुभयो । दक्षिण कोरियाको उदाहरण दिँदै उहाँले सन् १९६० ताका नेपालको प्रतिव्यक्ति आय ५० डलर र दक्षिण कोरियाको करिब १०० डलर रहेको स्मरण गर्नुभयो । अहिले कोरियाको प्रतिव्यक्ति आय ४० हजार डलर हाराहारी पुग्दा नेपालको भने १४ सय डलरमै सीमित रहेको उहाँले उल्लेख गर्नुभयो ।


स्वदेशी पुँजी परिचालन गरी “नेपालमा केही हुँदैन” भन्ने भाष्य चिर्न महासंघको पहलमा १० अर्ब रुपियाँ चुक्ता पुँजी भएको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना भई काम सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । उक्त कम्पनीमार्फत ४० देखि ५० अर्ब रुपियाँसम्मका ठुला आयोजना सञ्चालन गर्न सकिने उहाँको भनाइ थियो ।
अध्यक्ष ढकालले अर्थतन्त्रमा सुधारका पर्याप्त सम्भावना भए पनि बजारको माग नियन्त्रण गर्न अपनाइएका नीतिगत निर्णयका कारण अर्थतन्त्र चलायमान हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले कुल रोजगारीको ८६ प्रतिशत हिस्सा निजी क्षेत्रले ओगटेकाले निजी क्षेत्रको महत्व बुझ्न सबै सरोकारवालालाई आग्रह गर्नुभयो । बंगलादेश, भियतनाम, कम्बोडिया र भारतजस्ता देशहरूले निजी क्षेत्रलाई प्रोत्साहन गरेकै कारण तीव्र आर्थिक प्रगति गरेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले पछिल्लो तीन वर्षमा भारत, चीन, यूएई, कतार, स्पेन र थाइल्यान्ड लगायत देशमा बिजनेस समिट आयोजना गरिएको तथा विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताउनुभयो ।
वैदेशिक लगानी भित्र्याउन सुशासन पहिलो सर्त भएको उल्लेख गर्दै उहाँले प्रविधिको उच्चतम प्रयोग र सदाचार आवश्यक रहेको बताउनुभयो । अध्यक्ष ढकालले नागरिक एपमार्फत व्यवसाय दर्तादेखि सम्पूर्ण सरकारी सेवा उपलब्ध गराउनुपर्ने मागसमेत राख्नुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































