04/30/2026, 19:38:04
बिहिबार, बैशाख १७, २०८३

निगमका दुई वाइडबडी जहाज एकैपटक ग्राउन्डेड हुँदा करिब १५ सय यात्रु प्रभावित


काठमाडौँ, वैशाख १७ गते । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी विमान एकैपटक ग्राउन्डेड हुँदा अन्तर्राष्ट्रिय उडान तालिका प्रभावित भएको छ। यसका कारण करिब १५ सय यात्रु दुईतर्फी रूपमा बिचल्लीमा परेको निगमका अधिकारीहरुले बताएका छन् ।

जहाज नहुँदा निगमले बुधबार रातिको दुबई उडान रद्द भएको थियो भने बिहीबारका लागि तय गरिएको जापानको नारिता र साउदी अरबको दमाम उडान पनि रद्द गरिएका छन् । निगमको अपरेसन विभागका अनुसार नारिताबाट बुधबार काठमाडौं फर्कँदै गरेको वाइडबडी विमान उपत्यका भित्र ‘लाइटनिङ स्ट्राइक’ (चट्याङ लाग्ने घटना) मा परेपछि ग्राउन्डेड गरिएको छ । उक्त जहाजमा अहिले काठमान्डौं विमानस्थलमा सम्भावित क्षतिको मूल्याङ्कन (ड्यामेज एसेसमेन्ट) भइरहेको छ।

अर्कोतर्फ, अर्को वाइडबडी जहाज इन्जिन जाँच (बोरोस्कोप इन्स्पेक्सन) का लागि बुधबार बैंकक पठाइएको छ। उक्त जहाज थाई एयरवेज को एमआरओ ( मेन्टेनेन्स, रिपेयर एन्ड ओभरहल) सुविधामा परीक्षण भइरहेको निगमले जनाएको छ। यो विमान हिजो यात्रु लिएर बैंकक पुगेको थियो र हिजो फर्किनुपर्ने भए पनि प्राविधिक कारणले उतै रोक्नु परेको थियो । निगमका अनुसार उक्त जहाज भोलिसम्म काठमाडौं फर्काउने प्रयास भइरहेको छ।

नारिता–काठमाडौं उडानमा आएको जहाजले त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा स्थानीय मौसम प्रतिकूल हुँदा ‘गो–अराउन्ड’ गर्नुपरेको थियो। सोही क्रममा बाया इन्जिनको बाहिरी भागमा समस्या देखिएको र हाल जहाज निर्माता कम्पनी एयरबस तथा इन्जिन निर्माता रोल्स रोयज सँग समन्वय गरेर प्राविधिक जाँच भइरहेको इन्जिनियरहरुले भनेका छन ।

निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार दुवै वाइडबडीको मर्मत कार्य तीव्र गतिमा अघि बढाइएको छ। ‘बैंककमा रहेको जहाजलाई सकभर छिटो काठमाडौं ल्याउने प्रयास भइरहेको छ,’  उनले भने, ‘दुबई उडानका लागि तयार भएका बुधबीर रातीका यात्रुलाई निगमकै खर्चमा काठमान्डौंका होटलमा राखिएको छ । अर्जेन्ट काम भएका केही यात्रुलाई वैकल्पिक वायुसेवाका उडानमार्फत गन्तव्यतर्फ पठाइँदै छ।

निगमसँग हाल दुई वाइडबडी र दुई न्यारोबडी विमान छन्। दुइटा वाइडबडी एकसाथ ग्राउन्डेड भएपछि १५८ सिट क्षमताका न्यारोबडी जहाजमार्फत सीमित उडान सञ्चालन भइरहेको छ। वाइडबडी जहाजमा २५६ इकोनोमी र १८ बिजनेस श्रेणीका सिट हुन्छन्।

नेपाल वायुसेवा निगमले दिल्ली, मुम्बई, बेंगलुरु, दोहा, दमाम, बैंकक, नारिता, दुबई, हङकङ र ग्वाङझाउलगायत अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्दै आएको छ। हालको प्राविधिक समस्याले ती गन्तव्यका यात्रुहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् भने उडान तोकिएको तालिका अनुसार भइरहेका छैनन् ।

– सुरज कुँवर