लेखनाथ, वैशाख १७ गते । सडकमार्गबाट पर्यटन राजधानी पोखरा झर्नेबित्तिकै पाहुनाले यहाँको बेथिति अनुमान लगाइहाल्छन् । पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग टुङ्गिने पृथ्वी चोकमा बाटोछेउमै पुराना टिनका छाप्रा देखिन्छन् । बसले सडकमै यात्रु झार्छन्, चढाउँछन् । बसपार्क नदेखी, नटेकी यात्रु आउजाउ गर्छन् ।
पृथ्वी चोक बसपार्क सुकुमवासी बस्तीले भरिएपछि सडक किनार बसपार्क जस्तै बनेको छ । २०३२ सालमा बसपार्क बनाउन अधिग्रहण गरिएको दुई सय पाँच रोपनी जग्गामध्ये अहिले २६ रोपनी मात्र बाँकी छ । केही जग्गा अपारदर्शी तवरले बिक्री भएको देखिन्छ भने अधिकांश भागमा सुकुमवासी र अव्यवस्थित बसोबासीका घर बनेका छन् ।
पाँच दशकअघिको पोखरा बसपार्क परियोजना अझै सुरु हुन सकेको छैन । २६ रोपनीको बसपार्कमा पालैपालो आउन लागेका गाडी राख्ने गरिएको छ । यो बसपार्कमा न सार्वजनिक शौचालय छ न त खानेपानीको राम्रो प्रबन्ध नै मिलाइएको छ । कच्ची बसपार्क बर्खामा हिलाम्मे र हिउँमा धुलाम्मे हुन्छ ।
पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको यो जग्गाबाट एक पटक ३७ वटा र अर्को पटक ११ वटा घडेरी व्यक्तिलाई बेचिएको विभिन्न अध्ययनले देखाएका छन् । अब समितिका नाममा १४८ रोपनी १२ आना तीन दाम एक पैसाको जग्गाधनी पुर्जा छ । समिति अहिले पोखरा महानगरपालिका मातहत छ ।


महानगर प्रमुख धनराज आचार्य बसपार्कको गुरुयोजनासमेत बनिसकेको जनाउँदै चाँडै योजनाअघि बढ्ने दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, “हामीले महानगरभरिकै सार्वजनिक, ऐलानी र पर्ती जग्गामा निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन भनेका छौँ । अहिले अनुरोध गरेका छौँ, अनुरोधले काम नभए निर्देशन दिन्छौँ । त्यहाँसम्म नागरिकले कुरा बुझ्ने छन् । नभए थप प्रक्रिया कानुन अनुसार अगाडि बढ्छ ।”
पोखरा महानगरपालिकाले यही वैशाख ४ गते सूचना प्रकाशित गरेर सार्वजनिक जग्गा र त्यहाँ बनेका संरचना आफैँ खाली गर्न भनेको छ । पूर्वमा सेतीको डिल, पश्चिममा पृथ्वी राजमार्गबाट विमानस्थल जाने गोरेटो, उत्तरमा पृथ्वी राजमार्ग र दक्षिणतर्फ सेतीगण्डकीबिचको चार किल्लाको अधिग्रहण गरिएको बसपार्कको जग्गामा राजमार्ग विस्तार र सेती कटानपछि १८८ रोपनी बाँकी थियो ।
सेतीतर्फ धाँजा फाटेको करिब ६८ रोपनी बसपार्कका लागि अनुपयुक्त हुँदा १२० रोपनी १२ आनामा बसपार्क बनाउन मिल्ने देखिएकोमा अहिले त्यो साँघुरिएर २६ रोपनी भएको छ । जग्गा अधिग्रहणपछि बेलैमा मुआब्जा दिन र बसपार्क बनाउनतिर सरोकारवालाको ध्यान गएको छैन । बसपार्कका जग्गादातामध्ये एक जनालाई नगदमा र बाँकी छ जनालाई जग्गा नै सट्टाभर्ना दिइएको थियो । त्यसरी जग्गा दिने प्रक्रिया र मापदण्ड नै शङ्कास्पद रहेको प्रतिवेदनले देखाउँछन् ।


एउटै क्षेत्रफलका घडेरी बेच्दा कसैलाई एक लाख ८० हजार र कसैलाई तीन लाख रुपियाँसम्म लिइएको पाइएको छ । सट्टाभर्नाबापत २० रोपनी पाँच आना र १६ रोपनी १४ आना सस्तोमा बिक्री भएको देखिन्छ । बसपार्कको जग्गा पेट्रोल पम्प सञ्चालकलाई भाडा दिने र पछि बिक्रीसमेत भएको देखिएको छ । पोखरा विमानस्थल स्तरोन्नति गर्दा २०३४ सालमा त्यहाँका ७४ परिवारलाई बसपार्कमा ल्याइएको थियो । केहीलाई जग्गा बिक्रीसमेत गरिएको प्रतिवेदनले देखाउँछन् । पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने बसपार्क भएको जग्गाको चलखेल घटनाको निष्पक्ष छानबिन गरी चाँडै बसपार्क बनाउनुपर्ने बताउनुहुन्छ ।
बसपार्कमा पाँच सय घर
मुआब्जा दिएर राज्यले किनेको बसपार्कको जग्गामा अहिले करिब चार सय परिवार सुकुमवासी छन् । २०३६ सालतिर यहाँ सुकुमवासी बस्न थालेकोमा अहिले सुकुमवासीका पाँच वटा टोल छन् । अधिकांश घर अस्थायी खालका भए पनि दर्जनभन्दा बढी पक्की भवनसमेत बनेका छन् ।


सबै जसो घरमा बिजुली, पानीको सुविधा छ भने गल्ली गल्लीका बाटोसमेत पक्की बनाइएको छ । बसपार्कमा बस्दै आएकी निशा खातुन पूर्वाधार तयार भएको जग्गा व्यवस्थापन गरेर मात्र बसपार्क खाली गर्नुपर्नेमा जोड दिनुहुन्छ । उहाँले भन्नुभयो, “हामी विकास-विरोधी होइनौँ तर विकासका नाममा हामीलाई घरबार-विहीन बनाउनु भएन ।” बसपार्कको जग्गा खाली गर्ने चर्चापछि यहाँका बासिन्दाले सरोकार समिति बनाएका छन् । वास्तविक सुकुमवासीको उचित व्यवस्थापनका लागि आवाज उठाउने समितिको तयारी छ ।
– फडिन्द्र अधिकारी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































