04/30/2026, 13:05:19
बिहिबार, बैशाख १७, २०८३

भर्ना भएकालाई विद्यालयमा टिकाउन मुस्किल


टीकापुर, वैशाख १७ गते । टीकापुर नगरपालिकाका सरकारी विद्यालयमा बाल-बालिका भर्ना हुने दर बर्सेनि घट्दो क्रममा रहेको देखिएको छ । वडा नम्बर ६ स्थित राष्ट्रिय मा.वि बेलुवामा शैक्षिक सत्र २०७७ मा कक्षा १ मा ५३ जना बालबालिका भर्ना भएकोमा २०८२ मा पुग्दा २१ जना मात्रै भर्ना भएका छन् ।

यस्तै वडा नम्बर ७ स्थित जनता राष्ट्रिय मा.विमा २०७९ मा कक्षा १ मा ४० जना भर्ना भएकोमा २०८० मा १८ जना, २०८१ मा १७ जना र २०८२ मा आठ जना मात्रै भर्ना भएका छन् । वडा नम्बर ८ स्थित त्रिभुवन मा.वि बटनपुरमा २०७७ सालमा कक्षा १ मा २५ जना भर्ना भएकामा २०८१ मा नौ जना र २०८२ मा आठ जना विद्यार्थी मात्रै भर्ना भएका थिए ।

विद्यालय भर्ना हुने बालबालिकाको सङ्ख्या घट्दो क्रममा हुनु चिन्ताको विषय बनेको छ । सरकारी विद्यालय अभिभावकको रोजाइमा पर्न नसक्दा विद्यार्थी भर्ना बर्सेनि ओरालो लागेको अभिभावकको भनाइ छ । टीकापुर नगरपालिका–९ की सीता दहित सरकारी विद्यालयमा केही शिक्षक निकै सक्षम र राम्रा भए पनि अभिभावक निजी विद्यालयतर्फ आकर्षित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारी शिक्षक, कर्मचारीका बालबालिका निजी विद्यालयमा पढ्नु, शिक्षककै लगानीमा नजिकै निजी विद्यालय खोलिनु जस्ता कारणले पनि सरकारी विद्यालयमा भर्नादर घट्दै गएको हो ।

त्यस्तै वडा नम्बर ७ की रानी चौधरी पनि प्रावि तहमा पढाउने पुराना शिक्षकले मेहनत नगर्ने भएकाले छोराको पढाइ नबिग्रियोस् भनेर टाढाको निजी स्कुलमा पठाउन लागेको बताउनुभयो ।

सरकारी विद्यालयमा आधारभूत तहसम्म निःशुल्क शिक्षा, छात्रवृत्ति, कक्षा ५ सम्म दिवा खाजा जस्ता कार्यक्रम भए पनि विद्यार्थीको आकर्षण बढ्न सकेको छैन । सरकारी विद्यालयमा निःशुल्क पनि नपढाउने तर निजी विद्यालयमा चर्को शुल्क तिर्न तयार हुने अभिभावक नै शिक्षा महँगो भयो भनेर राज्यसँग आक्रोश पोख्ने गरेको श्रीपाल चौधरी बताउनुहुन्छ ।

टिकाउन झन् कठिन

टीकापुर नगरपालिका–६ स्थित राष्ट्रिय मा.वि बेलुवामा शैक्षिक सत्र २०८२ मा कक्षा १ देखि १० सम्म भर्ना भएका ३४ जना (१२ प्रतिशत) विद्यार्थी वर्षको अन्तिममा हुने परीक्षामा सहभागी भएनन् । त्रिभुवन मा.वि बटनपुरमा नौ प्रतिशत र सेतीमैयाँ चौधरी माविमा सात प्रतिशत विद्यार्थी अन्तिम परीक्षामा सहभागी भएनन् । त्रिभुवन मा.वि बटनपुरका प्रधानाध्यापक रवीन्द्र कठायत भन्नुहुन्छ, “बालबालिका अभिभावकसँगै मजदुरीका लागि देशभित्रै र भारत जाने, बर्खा, दसैँ तथा परीक्षापछिका बिदामा माथिल्लो कक्षामा पढ्ने विद्यार्थी काम गर्न जाने, पैसा कमाउने लोभमा विद्यालय छाड्ने वा ढिलो आएर पढाइ छुट्दा परीक्षा नदिने गरेका छन् ।

विद्यार्थीले बिचमा नै कक्षा छाड्ने कारण खोज्दा लागुऔषधको कुलतमा फसेका, रोजगारीका लागि अभिभावकसँगै बाहिरिएका बालबालिकाले विद्यालय छाड्ने गरेको उहाँको भनाइ छ ।

प्रधानाध्यापक कठायतले भन्नुभयो, “यस वर्ष विद्यालयले साना बालबालिकाका लागि निःशुल्क अटोरिक्सा सेवा सुरु गरेको छ । आउँदो वर्षका लागि अभिभावक साथमा नभएका बालबालिकालाई आवासीय शिक्षा दिने तयारी पनि गरिरहेको छ ।

जनता राष्ट्रिय मा.वि सोनाहाफाँटाका प्रधानाध्यापक किरण धिताल भने कुनै विद्यार्थी अनुपस्थित भएमा आफूसहित कक्षा शिक्षक विद्यार्थीका घरमा पुगेर अवस्था बुझ्न थालेपछि एक वर्षमा चार जना विद्यार्थीले मात्रै विद्यालय छाडेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दुई जना काम गर्न, एक जना बसाइँसराइ र एक जनाको बिहे भएकाले गाउँमै नरहेको बताउनुभयो ।

टीकापुर नगरपालिका–९ स्थित सेतीमैयाँ चौधरी मा.विमा २०७३ सालमा कक्षा १ मा भर्ना भएका २९ जना बालबालिकालाई पछ्याउँदा २०८२ मा एसइई दिने नौ जना मात्रै पुगेका छन् । बाँकी २० जनाले बिचैमा विद्यालय छाडेको प्रअ पतिराम चौधरी बताउनुहुन्छ । सरकारले आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क गर्दै २०८५ सालसम्म कक्षा ८ सम्मको शिक्षा पूरा नगर्नेलाई सम्पूर्ण सरकारी सेवाबाट वञ्चित गर्ने कठोर नीति लिएको छ ।

टीकापुर नगरपालिकाले २०८२ पुसमा एक सय जना शिक्षक परिचालन गरी छ देखि १२ वर्षसम्म विद्यालयबाहिर रहेका बालबालिका खोजी गर्दा सात जना अपाङ्गता भएकासहित ४० जना बालबालिका मात्रै विद्यालयबाहिर रहेको नगरपालिकाका शिक्षा अधिकृत बिना पौडेल बताउनुहुन्छ ।

नगरपालिकाका तर्फबाट गर्न सकिने सबै पहल भइरहेकाले विद्यार्थी टिकाउन र गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक र विद्यार्थीको पनि भूमिका रहेको पौडेल बताउनुहुन्छ । टीकापुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख रामबहादुर नगार्जी पनि खान, लाउन र स्टेसनरी अभावमा कुनै पनि बालबालिकाले विद्यालय छाड्नु नपर्ने तर शैक्षिक सुधारका लागि शिक्षक र अभिभावकको सहयोग चाहिने बताउनुहुन्छ ।

कतिपय विद्यालयमा विद्यार्थी घटेर न्यून भए पनि शिक्षकको सङ्ख्या धेरै छ । पालिकाले यस्ता शिक्षकलाई विद्यार्थी बढी भएका पालिकाभित्रका अन्य विद्यालयमा पठाउन खोज्दा शिक्षा ऐनमा पालिकाले सरुवा गर्ने व्यवस्था नभएको भन्दै अदालतले रोक लगाउने गरेको छ ।