04/30/2026, 15:01:51
बिहिबार, बैशाख १७, २०८३

अध्यादेश ल्याउने विधि लोकतन्त्र, संवैधानिक मान्यता र परम्पराविरुद्ध : संयोजक प्रचण्ड


रुकम पश्चिम, वैशाख १७ गते । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनलाई छलेर अध्यादेश ल्याउने सरकारको प्रक्रिया लोकतन्त्रको खिलाफमा रहेको प्रतिक्रिया दिएका छन् ।

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले सदनको अधिवेशनलाई स्थागित गरेर अध्यादेश ल्याउने विधि लोकतन्त्र, संवैधानिक मान्यता र परम्पराका विरुद्धमा भएकाले यस्तो गल्ती नगर्न सरकारलाई सावधान गराएका छन् । साथै दाहालले सरकारले अहिलेको संवैधानिक व्यवस्था, परम्परा र अन्तर्राष्ट्रिय मान्यतालाई पनि मिचेर ट्रेड युनियन र विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने कुरा निरंकुशतातिरको यात्रा हुन सक्ने भन्दै यसलाई तत्काल रोक्न माग गरेका छन् ।

सरकारले सुकुमवासी बस्ती खाली गराएको विषयमा प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘सुकुमवासीको वास्तविक पहिचान र उनीहरुको वैकल्पिक व्यवस्थापन नगरीकन बल प्रयोगको तरिकाले डोजर लगाएर गरिब, निमुखालाई आहत हुने किसिमले जो काम सरकारले गरेको छ, बिलकुल गलत छ ।

भर्खरै सम्पन्न आमनिर्वाचन सामान्य र स्वाभाविक नभएको भन्दै संयोजक दाहालले कैयौं ठाउँबाट आएका रिपोर्टले फरक प्रकारको शंका उत्पन्न गराएको भनेका छन् । ‘जित्नुपर्नेले हारेको छ, हार्नुपर्नेले जितेको छ । अनि कति ठाउँमा त आफैले हालेको मतसमेत पनि नपाएका भन्ने सुनियो । यसकारण यो निर्वाचन अरु बेलाको जस्तो सामान्य र स्वाभाविक होइन,’ प्रचण्डले भने ।

आफ्नो पार्टी अब एकताका बाँकी काम सम्पन्न गर्न महाधिवेशनको तयारीमा जुटेको बताउँदै उनले आगामी मंसिर ११ देखि १५ मा महाधिवेशन गर्ने र यसअघि विभिन्न तहका अधिवेशनहरु सम्पन्न गरेर नयाँ तरिकाले अघि बढ्ने योजना प्रचण्डले सुनाए ।

– महेश केसी