04/30/2026, 16:04:18
बिहिबार, बैशाख १७, २०८३

बाजुरामा चट्याङ लागेर ३९ भेडा बाख्रा मरे


बाजुरा, वैशाख १७ गते । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडा बाख्रा मरेका छन् । पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन वनमा चराउन लगिएका भेडा बाख्रा चट्याङ लागेर मरेका हुन् ।

पानी पर्दा ओत लागेर ओडारमा बसेका बेला चट्याङ लागेर भेडा बाख्रा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए । उनले दिएको जानकारीअनुसार चट्याङ लागेर भेडा बाख्रा मरेको खबर पाएपछि इलाका प्रहरी चौकी स्वामीकार्तिकबाट प्रहरी टोली सो स्थानतर्फ गएको छ ।

यसैगरी मंगलबार वनमा चराएर घर ल्याउने क्रममा पहिरो जाँदा जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनीमा १३ बाख्रा मरेका थिए भने ३८ भेडा बाख्रा बेपत्ता भएका थिए । मङ्गलबार नै त्रिवेणी नगरपालिका–९ पैमाको खोया लेकमा स्थानीय कूलबहादुर साउँदका तीन बाख्रा गोठमा चट्याङ लागेर मरेका थिए ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..