तनहुँ, वैशाख ७ गते । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको निरन्तर वृद्धि र खाना पकाउने ग्यासको बढ्दो लागतले गर्दा उपभोक्ताहरू विद्युतीय चुलोतर्फ आकर्षित हुन थालेका छन् । ग्यासको तुलनामा विद्युतीय चुलो (इन्डक्सन र इन्फ्रारेड) सस्तो, सुरक्षित र वातावरणमैत्री पाइएपछि तनहुँमा यसको प्रयोगकर्ताको सङख्या उल्लेख्य रूपमा बढेको छ ।
व्यास नगरपालिका–३ सफा सडकस्थित जिआर ई. सप्लायर्सका सञ्चालक गौरव खड्काका अनुसार पछिल्लो समय विद्युतीय चुलोको व्यापार अघिल्लो वर्षको तुलनामा झण्डै १२ गुणाले बढेको छ । “पहिला एक वर्षमा हुने व्यापार अहिले एक महिनामा नै हुन थालेको छ, खड्काले भन्नुभयो, “दैनिक करिब २० जना ग्राहक विद्युतीय चुलो खोज्दै आउने गर्नुभएको छ ।’’ बजारमा अहिले क्षमता र गुणस्तर अनुसार तीन हजारदेखि १८ हजार रुपियाँसम्मका चुलोहरू उपलब्ध छन् । दुई वर्षको वारेन्टी र बिग्रिएमा सहजै मर्मत हुने सुविधाले पनि उपभोक्तालाई यसतर्फ आकर्षित गरेको खड्काले जानकारी दिनुभयो ।


ग्यास आयातका लागि नेपालबाट वार्षिक अर्बौँ रुपैयाँ बाहिरिइरहेको सन्दर्भमा स्वदेशी बिजुलीको प्रयोगले व्यापार घाटा कम गर्न समेत मद्दत पुग्ने देखिन्छ । एलायन्स क्लब अफ दमौलीका अध्यक्ष एवम् स्थानीय उपभोक्ता अमित कैनीले ग्यासभन्दा विद्युतीय चुलो नै बढी उपयुक्त र किफायती भएको अनुभव सुनाउनुभयो । कैनीले भन्नुभयो, “ग्यासको तुलनामा विद्युतीय चुलो प्रयोग गर्न निकै सरल र सुरक्षित छ । यसको प्रयोग गर्दा डलर बाहिर जाँदैन र हाम्रो आफ्नै देशको ऊर्जा खपत बढ्छ, जुन राष्ट्रिय अर्थतन्त्रका लागि पनि ठूलो सहयोग हो ।’’
व्यास नगरपालिका–१० बैरेनीका कृष्ण जिसीले ग्यासभन्दा विद्युतीय चुलो प्रयोग गर्दा भान्साको खर्च आधा कम हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हावाहुरी लागेर लाइन गएको बेला मात्र विकल्पका रूपमा ग्यास बाल्छु, अरु समय बिजुली नै सस्तो र सजिलो छ ।’’
विद्युतीय चुलोको प्रयोगले भान्सामा धुवाँ नहुने भएकाले महिलाहरूको स्वास्थ्यमा सुधार आउनुका साथै वन जङ्गलको संरक्षणमा पनि योगदान पुग्ने देखिएको छ । परम्परागत इन्धनको तुलनामा विद्युतीय शक्ति आधुनिक र प्रभावकारी भएकाले यसको प्रवर्धनमा स्थानीय तहले समेत जोड दिनुपर्ने तनहुँ उद्योग वाणिज्य सङ्घका निर्वतमान अध्यक्ष वैकुण्ठनाथ मिश्रले बताउनुभयो । सुरक्षित प्रयोगका लागि १५ एम्पियरको विद्युत क्षमता र गुणस्तरीय उपकरण छनोट गर्नु उपयुक्त हुने नेपाल उर्जा प्रतिष्ठानले जनाएको छ ।
– अमरराज नहर्की
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































