04/18/2026, 15:19:00
शनिबार, बैशाख ०५, २०८३

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन


गुल्मी, वैशाख ५ गते । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएका छन् । नेपाल वायुसेवा निगमले काठमाडौँबाट गुल्मीका लागि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो ।

यसअघि आइतबार, मङ्गलबार र बिहीबार उडान सञ्चालन हुँदै आएको थियो । नेपाल वायुसेवा निगमका आन्तरिक उडानतर्फ रहेका ट्विनअटर जहाजको मर्मतसम्भार गरेसँगै उडान तालिका थप गरिएको रेसुङ्गाका स्टेसनका प्रमुख सुमन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार निगमको उडान तालिका थप भएसँगै भाडादरसमेत वृद्धि भएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै रेसुङ्गा-काठमाडौँको हवाई उडानको भाडादरमा वृद्धि भएको स्टेसन प्रमुख थापाले बताउनुभयो ।

नयाँ लागु गरिएको भाडादर अनुसार काठमाडौँबाट रेसुङ्गाका लागि १० हजार ९०२ र रेसुङ्गाबाट काठमाडौँका लागि १० हजार ७०२ रुपियाँ निर्धारण गरिएकोे उहाँले जानकारी दिनुभयो । निगमले यसअघि काठमाडौँबाट रेसुङ्गाका लागि सात हजार ५०० र गुल्मीबाट काठमाडौँका लागि सात हजार ३०० रुपियाँ भाडादर निर्धारण गरेको थियो ।

विगतमा यात्रुहरूको अत्यधिक घुइँचो हुने गरेको रेसुङ्गा विमानस्थलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै भाडादरमा तीन हजार ४०२ रुपियाँ मूल्य वृद्धि गरिएकोे स्टेसन प्रमुख थापाले जानकारी दिनुभयो । उहाँका अनुसार निगमले आन्तरिक उडानतर्फ ट्विनअटर जहाजले सेवा दिइरहेको छ । वर्षाको समय र प्रतिकूल मौसमका कारणबाहेक पछिल्लो पाँच महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित रूपमा हवाई सेवा सञ्चालन हुँदै आएको छ । नेपाल वायुसेवा निगमद्वारा १८ सिट क्षमताको ट्विनअटर जहाजबाट काठमाडौँ-रेसुङ्गा सेवा सञ्चालन हुँदै आएको छ ।

काठमाडौँबाट आइतबार बिहान ८:०५ बजे र रेसुङ्गाबाट बिहान ९:०५ बजे र मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँबाट बिहान ६:१५ बजे र रेसुङ्गा विमानस्थलबाट काठमाडौँका लागि बिहान ७:१५ बजे उडान हुने स्टेसन प्रमुख थापाले जानकारी दिनुभयो । दिउँसोको समयमा हावाको चाप बढी हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान भर्ने गरिएको उहाँको भनाइ छ ।

गुल्मीमा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । करिब १६ देखि १८ घण्टाको लामो स्थलमार्गबाट यात्रा गरेर राजधानी पुग्नुपर्ने बाध्यता हटेको यात्रुहरू बताउँछन् । सेवा सुरु भएपछि हवाईमार्गबाट ४५ देखि ५० मिनेटमा गुल्मीबाट राजधानी आवतजावत गर्न सकिन्छ । गुल्मीमा नेपाल वायुसेवा निगमले विसं २०८० वैशाख २९ गतेदेखि व्यावसायिक रूपमा हवाई उडान सुरु गरेको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..