काठमाडौँ, चैत्र ७ : कुनै समय यस्तो थियो जतिबेला भूमिका श्रेष्ठ लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको लागि सडकबाट आवाज उठाउँथिन् । समाजमा अल्पसंख्यक समुदायलाई हेरिने दृष्टिकोण, परिवारबाटै तिरस्कृत हुनुपर्ने अवस्था, समाजमा मौलाएको अपहेलना, अत्याचारको अन्त्य गर्न उनी कहिल्यै पछि हटिनन् ।
उनले धेरैलाई अधिकार सडकबाटै दिलाएकी छिन् । उनी अत्याचार विरुद्ध सधैँ लडिन् । ‘महिला र पुरुष जसरी समाजमा समान मानिन्छन् । त्यसरी नै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू पनि समान मानिनुपर्छ । हामीले पनि समान अधिकार पाउनुपर्छ ।’ भन्दै सधैँ आवाज उठाउँथिन् । उनले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार र पहिचानको लागि सधैँ लड्दै आएकी छन् । उनले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको समान अधिकारका लागि दुई दशकभन्दा बढी समयदेखि आवाज उठाइरहिन् । अब भने सदनबाट आफ्नो समुदायसँगै देशको हितको लागि काम गर्ने उनी बताउँछिन् ।
उनी रास्वपा समानुपातिकतर्फबाट आदिवासी जनजाति कोटाबाट निर्वाचित भएर आएकी हुन् । उनको चयनले संसदीय इतिहासमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको लागि ठूलो फड्को मानिएको छ । साथै उनी सदनबाट लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हक हितमा बलियो खम्बा बनेर देखिने विज्ञहरूको भनाइ छ ।
समानुपातिक सूचीबाट निर्वाचित भएपछि उनले भनिन्, ‘म मेरो समुदायको लागि मात्र नभएर देशका हरेक नागरिकको हक-हितको लागि आवाज उठाउने छु ।’ आफ्नो समुदायबाट प्रतिनिधित्व गर्न पाउँदा भने निकै खुसी लागेको उनले सुनाइन् । भनिन्, ‘आफ्नो समुदायको लागि सदनबाटै आवाज उठाउन पाउनेछु । निकै खुसी लागेको छ ।’
उनले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका धेरै कुरा समेट्ने उद्देश्य रहेको सुनाइन् । उनले भनिन्, ‘नागरिकता, स्वास्थ्य, शिक्षामा पहुँच, साथै वैवाहिक समानताका लागि आवश्यक कानुन निर्माणमा जोड दिने लक्ष्य रहेको छ,’ उनले भनिन्, ‘नेपालको संविधानमा लेखेर मात्र हुँदैन । धारा १२, १८ र ४२ मा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित गरेको छ । तर, व्यवहारमा लागू भएको छैन । त्यसलाई लागू गर्नको लागि प्रस्ट नीतिको आवश्यक पर्छ ।’ उनी आफ्नो समुदायको लागि ठोस ऐन कानुनहरू अझै बन्न बाँकी रहेको सुनाउँछिन् । आफूले नीति निर्माण, बनाउन सधैँ आवाज उठाउने उनले बताइन् । उनले अपांगता भएका व्यक्ति, मधेशी, मुस्लिम, आदिवासी जनजाति, साथै अल्पसंख्यक समुदायका मुद्दा पनि आफूले उठाउने सुनाइन् ।
उनको राजनीतिक जीवन हेर्ने हो भने उनी आफ्नो समुदायको आवाज उठाउने सोचले नेपाली कांग्रेसमा आबद्ध भएकी थिइन् । त्यसपछि उनी रास्वपामा आबद्ध भइन् । उनी अघि २०६४ सालको संविधान सभामा निर्वाचनपछि एसियाकै पहिलो समलिंगी सभासदका रूपमा सुनिलबाबु पन्त चुनिएका थिए ।

सडकमा पहिचानको आवाज उठाउँदै संसद्सम्मको यात्रा
भूमिका सामाजिक जीवनमा निकै संघर्ष गरेर यहाँसम्म आउने मध्यकी एक हुन् ।
उनी काठमाडौंको चन्द्रगिरी नगरपालिका–१४ मा २०४४ सालमा नेवार परिवारमा छोराको रूपमा जन्मिएकी थिइन् । उनको नाम कैलाश थियो । बाल्यकालदेखि नै उनमा परिवारले पुरुषभन्दा फरक स्वभाव महसुस गर्थे । उनलाई ममीको ‘लिपस्टिक’ दिदीको ‘स्कर्ट’ लगाउन मन पर्थ्यो । या भनौँ उनी खुसी र सन्तुष्टि पुरुष भएरभन्दा केही क्षणको लागि भएपनि महिला हुँदा हुन्थिन् ।
उनी घरभित्रका काममा रमाउँथिन् । उनको परिवारले उक्त कुरालाई साधारण तरीकाले लिए । ‘सानो भएर होला ठूलो भएपछि यस्तो बानी आफैँ परिवर्तन भइहाल्छ’ भन्ने सोच्थे । तर, ठूलो हुँदै गर्दा पनि उनले सोही काममा रमाउँथिन् । एक दिन उनकी आमाले उनलाई भनिन्, ‘राम्रो पढेर ठूलो भएपछि बुहारी ल्याउनुपर्छ ।’ आमाको कुरालाई बीचमै काटेर उनले ‘बुहारी होइन ज्वाइँ ल्याउँछु’ भनेर जवाफ दिएकी थिइन् । सुरुमा सबै जना अचम्म परे । तर, बिस्तारै आमासहित परिवारका अन्य सदस्यले उनलाई नजिकबाट नियाले । त्यसपछि घरमा उनका लागि सहज वातावरण बनाइदिने काममा जुट्न थाले ।
भूमिकालाई परिवारको साथ सधैँ मिल्यो । तर, स्कुलका साथै समाजमा भने हरेक दिन अपहेलना र उनको शारीरिक हाउभाउलाई लिएर मजाक बन्थ्यो । उनी आफ्नो स्वतन्त्रतामा कहिल्यै रमाउन सकिनन् कारण थियो । समाज र स्कुलमा उनलाई गर्ने फरक व्यवहार । उनी आफूलाई देखेर समाजमा प्रयोग हुने शब्दहरूको अड्कल नै गर्न सक्दिनथिन् । हरेक दिन उनले नाम नै नसुनेका अश्लील शब्दहरूको उच्चारण गर्दै समाजले उनलाई अपहेलना गर्थ्यो ।
पढेर ठूलो मान्छे बन्ने सपना देखेकी, आफ्ना सपना पछ्याउँदै खुल्ला आकाशमा उड्ने चाहना राखेकी उनले आफूलाई स्कुलमा गरेको व्यवहार सहनै सकिनन् । अन्ततः उनले कक्षा ९ पढ्दै गर्दा पढाइ छोड्न बाध्य भइन् । उनलाई त्यस समय निकै पीडा भएको थियो । परिवारको साथ सहयोग भएपनि उनको मनमा सधैँ एउटै कुरा खट्किएको थियो । ‘मलाई किन समाजमा फरक व्यवहार गरिन्छ ? भगवान्ले मलाई किन फरक जन्माए ?’
बाल्यकालदेखि नै आफ्नो लैंगिकतालाई लिएर धेरै पीडा बेहोरेकी उनले १६ वर्षको उमेरमा ‘ब्लु डाइमन्ड सोसाइटी’ (नील हीरा समाज)की अध्यक्ष पिंकी गुरुङलाई भेटिन् । अघिल्लो दिनसम्म ‘म किन फरक‘ भन्ने सोचेकी उनले ‘म एक्लै रहेनछु‘ भन्ने महसुस हुन थाल्यो । उनको आत्मबल बिस्तारै बढ्दै गयो । ब्लु डाइमन्ड सोसाइटीसँग आबद्ध भएपछि नै उनले आफ्नो पहिचान स्वीकार गरेकी थिइन् । र बनेकी थिइन् कैलाशबाट भूमिका ।
जिन्दगीका धेरै बाधा र अवरोधलाई छिचोल्दै उनी ब्लु डाइमन्ड सोसाइटीमा आबद्ध भएर काम गरिन् । उनले नागरिकताको लागि निकै संघर्ष गरेको सुनाइन् । उनले भनिन्, ‘सुरुवाती समयदेखि नै मैले पहिचानको नागरिकता बनाउन निकै संघर्ष गरेकी थिए । मलाई पुरुष, वा अन्य नभई महिला लेख्नु थियो आवाज उठाएपछि त्यो आफ्नो पहिचानको नागरिकता बनाउन सफल भएकी थिएँ । त्यति धेरै संघर्ष गरेर मैले नागरिकता पाएँ । तर, मेरो समुदायका अन्य व्यक्तिले पहिचानको नागरिकता अझै पाएका छैनन् । म त्यसको लागि लड्नेछु ।’
उनी संस्थामा आबद्ध हुँदा समाजबाट अपहेलित भएका आफ्ना साथीको घाउमा मलम लगाउन सधैँ तत्पर भइन् । आवाज-विहीनको आवाज बन्न सधैँ संस्थासँग जोडिएर काम गरिन् । उनले ब्लु डाइमन्ड सोसाइटीसँग आबद्ध भएर लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हक, अधिकारको लागि काम गर्दै आएकी छिन् । ‘अहिलेसम्म सधैँ आवाज उठाउँदै आएकी छु । आवाज उठाएर नै पहिलाको भन्दा हामीलाई हेर्ने, व्यवहार गर्ने दृष्टिकोणमा निकै फरक आएको छ,’ उनले भनिन्, ‘अबको नयाँ पुस्तालाई लैंगिक तथा यौनिक अल्पसंख्यक भएर समाजमा स्वतन्त्रताले बाँच्न आवाज नै उठाउन नपर्ने गरी समाज परिवर्तन गर्न तत्पर रहेर काम गर्नु छ ।’
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको आवाज उठाउन गरेको संघर्षको कदर गर्दै सन् २०१९ मा बेलायती संस्था ‘एपोलिटकल्स’ले लैंगिक समानताका लागि संघर्षरत १०० जना प्रभावशाली महिलाहरूको सूचीमा उनी पनि परेकी थिइन् । त्यस्तै, अमेरिकी सरकारले उनको योगदानको कदर गर्दै ‘अन्तर्राष्ट्रिय साहसी महिलाको पुरस्कार’ बाट सम्मान गरेको थियो ।
उनी नेपाल सरकारबाट ‘जनसेवाश्री पाँचौँ’ विभूषणबाट समेत सम्मानित भइसकेकी छन् । उनी विभिन्न फिल्ममा तथा डकुमेन्ट्रीहरूमा अभिनय समेत गरिसकेकी छन् । उनको ‘भूमिकाः तेस्रोलिंगीको आत्मकथा’ नामक पुस्तक समेत प्रकाशित छ । उनको अनुभव र उनको पहिचान, जिन्दगीमा उनले यौनिक तथा अल्पसंख्यक भएर भोग्नु पीडा, समाजमा देखा परेका बाधा अवरोध, पहिचानको लागि उनले गरेको संघर्ष उक्त पुस्तकमा समेटिएको छ ।
उनलाई जसले बाल्यकालमा उनको पहिचानको भद्दा मजाक गर्थे । अहिले भने राम्रो काम गरेको भन्दै प्रोत्साहन गर्ने गरेको सुनाइन् । ‘परिवारले सानोमा समाजले नराम्रो भन्दा तिमी ठूलो भएर केही गरेर देखाउनुपर्छ भन्नुहुन्थ्यो । अहिले मेरो प्रगतिमा निकै खुसी हुनुहुन्छ,’ उनले भनिन्, ‘जसले मेरो कारण परिवारलाई नानाथरी भन्थे । अहिले उनीहरू नै मेरो परिवारलाई बधाई दिएको देख्दा खुसी लाग्छ ।’ आफू समानुपातिकमा चुनिएपछि परिवार साथै आफ्नो समुदाय निकै खुसी भएको सुनाइन् ।
अब भने आफू सशक्त भएर विभिन्न समुदाय, समाज र देशको, हक हितको लागि लड्ने उनले बताइन् । उनले भनिन्, ‘म जुन समुदायको हो त्यो समुदायको मात्र आवाज उठाउने होइन । देशमा रहेको विकृति, विसंगति अन्त्यको लागि आवाज उठाउने मेरो दायित्व हो ।’
– आरती पौडेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
