काठमाडौँ, चैत ३ गते । चालु आर्थिक वर्ष २०८२-८३ को सुरुवाती कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड रुपैयाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। यस अर्थमा पछिल्लो आठ महिनामा मात्र दुई खर्ब चार अर्ब २४ करोड रुपैयाँ ऋण थपिएको छ।
कार्यालयका अनुसार कुल बाँकी ऋणमध्ये १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख आन्तरिक र १५ खर्ब ३० अर्ब १८ करोड बाह्य ऋण तिर्न बाँकी रहेको छ। कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५३.१६ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत रहेको छ। यस ऋणको कुल हिस्सा कुल गार्हस्थ्य उत्पादनको ४७.१३ प्रतिशत बराबर आउँछ।
सरकारले चालु आर्थिक वर्षका लागि पाँच खर्ब ५९ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेकोमा फागुन मसान्तसम्ममा दुई खर्ब ९५ अर्ब १९ करोड रुपैयाँ ऋण उठाइसकेको छ, जुन वार्षिक लक्ष्यको ५०.४४ प्रतिशत हो।
आन्तरिकतर्फको लक्ष्य तीन खर्ब ६२ अर्ब रुपैयाँ रहेकोमा हालसम्म ६७.३१ प्रतिशत अर्थात् दुई खर्ब ४३ अर्ब ६६ करोड रुपैयाँ ऋण उठिसकेको छ। बाह्य ऋणतर्फ दुई खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ उठाउने लक्ष्य रहेकोमा फागुन मसान्तसम्म २४.३१ प्रतिशत अर्थात् ५६ अर्ब ८० करोड रुपैयाँ मात्र उठाइएको छ।
सरकारी ऋणको साँवा-ब्याज तिर्न यस वर्ष चार खर्ब ११ अर्ब एक करोड रुपैयाँ विनियोजन गरिएकोमा फागुन मसान्तसम्ममा दुई खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ भुक्तानी भइसकेको छ। यसलाई वार्षिक विनियोजनको आधारमा ५८.९४ प्रतिशत मानिएको छ। कुल गार्हस्थ्य उत्पादनको आधारमा माघ मसान्तसम्मको ऋण सेवा खर्च ३.९७ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
