

काठमाडौँ, भदौ १ गते । अविरल वर्षासँगै आएका बाढी, पहिरो र सडक कटानका कारण देशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू पूर्ण एवं आंशिक रूपमा अवरुद्ध भएका छन्। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका दर्जनौँ स्थानमा यातायात ठप्प हुँदा सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ। बिपी राजमार्ग र हेटौँडा-काठमाडौँ जोड्ने सडकखण्डमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का अनुसार पछिल्लो २४ घण्टामा मात्रै बाढी-पहिरोलगायतका ४६ वटा विपत्का घटना दर्ता भएका छन्, जसमा परि २ जनाको मृत्यु, ३ जना बेपत्ता र २३ जना घाइते भएका छन्। उद्धार र विपत् व्यवस्थापनका लागि ठाउँ-ठाउँमा सुरक्षा निकायका टोलीहरू परिचालन गरिएका छन्।
जोखिम थपिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सरकारले रोल्पा, बाजुरा र जाजरकोटका प्रभावित क्षेत्रमा ३ दिनभित्र प्रारम्भिक भौगर्भिक अध्ययन टोली खटाउने निर्णय गरेको छ। वर्षायाम जारी रहेकाले अत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न र लामो यात्रा गर्नुअघि अनिवार्य रूपमा सडकको अवस्थाबारे जानकारी लिन प्रशासनले सबैमा अनुरोध गरेको छ।
सडक तथा यातायातको अवस्था
पूर्ण अवरुद्ध सडकहरू:
इलाम: मेची राजमार्ग (इलाम-९, राजदुवाली)
सङ्खुवासभा: खाँदबारी–किमाथाङ्का सडकखण्ड (भोटखोला-३, सिर्खेकडाँडा)
सिन्धुपाल्चोक: अरनिको राजमार्ग (भोटेकोशी-२, कोदारी तथा लिपिङ)
रसुवा: त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक (उत्तरगया-५, खाल्टे)
लमजुङ: बेँसीसहर–मनाङ सडकखण्ड (मस्र्याङ्दी-४, रामबजार)
म्याग्दी: बेनी–जोमसोम सडकखण्ड (अन्नपूर्ण-३, रुप्से)
रुकुमपश्चिम: जाजरकोट–डोल्पा सडकखण्ड/भेरी कोरिडोर (आठबिसकोट-६, रिगेगाडखोला)
आंशिक / समयसीमा तोकिएका सडकहरू:
भोजपुर: मध्यपहाडी लोकमार्ग (भोजपुर-५, बोखिम) – एकतर्फी
बागलुङ: कालीगण्डकी कोरिडोर (जैमिनी-८, बेलबगर) तथा बागलुङ–बेनी सडकखण्ड – एकतर्फी
मुस्ताङ: बेनी–जोमसोम सडकखण्ड (थासाङ-४, कैकुखोला) – एकतर्फी
बिपी राजमार्ग (खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी): बाढीको जोखिमका कारण बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द (बिहान ४ देखि साँझ ६ बजेसम्म मात्र सञ्चालन)
हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ: रातिको समयमा यातायात सञ्चालनमा रोक
What if you could work from Anywhere?
Explore More with something that can change your Life!























