08/15/2026, 17:39:41
शनिबार, साउन ३०, २०८३

स्वदेशमै ढुक्कसँग लगानी गर्न एनआरएनलाई अर्थमन्त्री वाग्लेको आग्रह, २७ ऐन-कानुन संशोधन गरिएको दाबी


काठमाडौँ, साउन ३० गते । चीनको ग्वाङझाउमा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई स्वदेशमै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ।

सरकारले चालु बजेटमार्फत २७ वटा ऐन-कानुन संशोधन गरी पूर्ण रूपमा लगानीमैत्री वातावरण सिर्जना गरिसकेको जानकारी दिँदै उहाँले पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापन हुने क्षेत्रहरूमा लगानी बढाउन एनआरएनहरूलाई आह्वान गर्नुभयो।

अर्थमन्त्री वाग्लेले सरकारले आर्थिक राजकाजलाई नयाँ दिशा दिँदै कर प्रणालीमा व्यापक सुधार थालेको र आगामी वर्षहरूमा यसको प्रत्यक्ष नतिजा तथा प्रतिफल जनताले पाउने दाबी गर्नुभयो। आन्तरिक तथा गैरआवासीय नेपालीको पुँजी र ज्ञानलाई स्वदेश भित्र्याउन धितोपत्र बाँडफाँड नियमावली संशोधन गरी सेयर हिस्सा ८५ प्रतिशत पुर्‍याइएको र रुग्ण उद्योग पुन: सञ्चालनमा समेत एनआरएनको ज्ञान तथा सीप उपयोग गर्ने नीति लिइएको उहाँले स्पष्ट पार्नुभयो।