08/11/2026, 08:43:12
मङ्गलबार, साउन २६, २०८३

नेपालमा थप २०० अर्बको वैदेशिक लगानी भित्रिँदै: नाफा र सम्पत्तिको सुरक्षा गर्ने अर्थमन्त्रीको प्रतिबद्धता


काठमाडौँ, साउन २६ गते । नेपालमा छिट्टै थप दुई सय अर्ब रुपियाँको वैदेशिक लगानी भित्रिने भएको छ। जलविद्युत्, पेन्ट, होटेल, खाद्य तथा पेय पदार्थजस्ता उत्पादनमूलक क्षेत्रका आयोजनाहरूमा लगानी विस्तारको प्रक्रिया अघि बढिरहेको बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूले जानकारी गराएका हुन्।

अर्थ मन्त्रालयमा आयोजना गरिएको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठुला करदाता बहुराष्ट्रिय कम्पनीहरूलाई भइरहेको उद्योगको विस्तार गर्न, नयाँ प्रविधि भित्र्याउन र नयाँ रोजगारी सिर्जना गर्न आग्रह गर्नुभयो।

छलफलका क्रममा अर्थमन्त्री डा. वाग्लेले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको पूर्ण सुरक्षा गर्ने जिम्मेवारी सरकारको भएको प्रतिबद्धता व्यक्त गर्नुभयो। सरकारको प्राथमिकता केवल कर सङ्कलन बढाउनु मात्र नभई उत्पादन, लगानी र पुनः लगानीको चक्रलाई तीव्र बनाउनु रहेको उहाँको भनाइ थियो। निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई राष्ट्रनिर्माणको साझेदारका रूपमा हेरिने र समस्या समाधानका लागि अर्थ मन्त्रालयले ‘रेस्पोन्स डेस्क‘ मार्फत निरन्तर अनुगमन गर्ने आश्वासन समेत उहाँले दिनुभयो।

यसैबिच लगानीकर्ता तथा बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूले नेपालमा लगानीको वातावरण अझ सहज बनाउन नीतिगत र व्यावहारिक सुधारको माग गरेका छन्। प्यारेन्ट (माउ) कम्पनीबाट पुँजी ल्याउन सहजीकरण, आयकर ऐनको दफा ५७ संशोधन, श्रम कानुन परिमार्जन, स्थिर भन्सार दर, र दोहोरो करको झन्झट अन्त्य गर्न उहाँहरूले अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो। सरकारले नीतिगत स्थिरता र अनुकूल वातावरण बनाएमा लगानी विस्तारले देशको अर्थतन्त्र र रोजगारी वृद्धिमा ठुलो योगदान पुर्याउने उहाँहरूको भनाइ थियो।

नेपालमा सञ्चालित तथा प्रमुख बहुराष्ट्रिय कम्पनीहरू (Multinational Companies) क्षेत्रगत आधारमा निम्नानुसार छन्:

१. उपभोग्य वस्तु (FMCG) र पेय पदार्थ
– युनिलिभर नेपाल (Unilever Nepal Limited)
– डाबर नेपाल (Dabur Nepal)
– बोटलर्स नेपाल / कोका-कोला (Bottlers Nepal Limited – Coca-Cola)
– वरुण बेभरेजेज / पेप्सी (Varun Beverages – Pepsi)
– सूर्या नेपाल (Surya Nepal Private Limited)
– गोर्खा ब्रुअरी (Gorkha Brewery – Carlsberg Group)

२. दूरसञ्चार तथा प्रविधि (Telecom & Tech)
– एनसेल (Ncell Axiata)
– भेरिक्स नेपाल (Verisk Nepal)

३. निर्माण तथा सिमेन्ट (Manufacturing, Paints & Construction)
– एशियन पेन्ट्स नेपाल (Asian Paints Nepal)
– होङ्सी शिवम् सिमेन्ट (Hongshi Shivam Cement)
– हुवाक्सिन सिमेन्ट (Huaxin Cement Nepal)
– आरती स्ट्रिप्स (Aarti Strips)

४. आतिथ्य तथा सेवा क्षेत्र (Hospitality)
– हयात रिजेन्सी (Hyatt Regency Kathmandu)
– र्याडिसन होटल (Radisson Hotel Group)
– क्राउन प्लाजा / सोल्टी (Crowne Plaza / Soaltee)
– हिमालय एयरलाइन्स (Himalaya Airlines)

५. ऊर्जा तथा पूर्वाधार (Energy & Construction)
– पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना (Power Construction Corporation of China)
– दुसान इनरबिलिटी (Doosan Enerbility Company)