08/06/2026, 08:06:02
बिहिबार, साउन २१, २०८३
हामी सुन्छौँ

रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने


काठमाडौँ, साउन २१ गते । काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टीघर’ बाट साउन २५ गतेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने भएको छ।

साउन १३ गते सम्पन्न केन्द्रीय समितिको निर्णय अनुसार सञ्चालन हुन लागेको यो अभियानमार्फत नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुनेर सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गरिनेछ।

अभियान अवधिभर बिदाको दिनबाहेक दैनिक कम्तीमा दुई जना जिम्मेवार नेताको उपस्थिति अनिवार्य गरिएको छ, जसमध्ये एक जना प्रतिनिधि सभा सदस्य र एक जना केन्द्रीय सदस्य रहनेछन्। जन-प्रतिनिधिलाई नागरिकसँग नियमित सम्पर्कमा राख्दै जन-भावनालाई नीति तथा कार्यक्रम निर्माणसँग जोड्ने उद्देश्यका साथ यो व्यवस्था मिलाइएको रास्वपाले जनाएको छ।

केन्द्रीय कार्यालयबाट सुरु हुने यो अभियानलाई सातै प्रदेश र पार्टीले निर्वाचन जितेका ७१ वटै जिल्लामा विस्तार गरिनेछ। यसलाई सार्वजनिक सुनुवाइ र जनउत्तरदायित्वको स्थायी संयन्त्रका रूपमा विकास गर्ने पार्टीको तयारी छ। साथै, रास्वपाले अन्तर्राष्ट्रिय युवा दिवस, २०२६ को तयारीलाई पनि तीव्र पारेको छ।