07/19/2026, 16:00:38
आइतबार, साउन ०३, २०८३

विश्वकप २०२६: बुकायो साकाको ह्याट्रिकमा फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड तेस्रो


काठमाडौँ, साउन ३ गते । बुकायो साकाको उत्कृष्ट ह्याट्रिक मद्दतले इंग्ल्यान्डले विश्वकप २०२६ मा तेस्रो स्थान हासिल गरेको छ। आइतबार मियामीमा भएको रोमाञ्चक प्रतिस्पर्धामा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ ले पराजित गर्दै सान्त्वना जित निकालेको हो। विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्डले जितेको यो पहिलो पटक हो।

खेलको तेस्रो मिनेटमै कप्तान डेक्लेन राइसको गोलबाट इंग्ल्यान्डले अग्रता लिएको थियो। १८ औं मिनेटमा एजरी कोन्सा र ३७ मिनेट तथा पहिलो हाफको इन्ज्युरी समयमा साकाले गोल गरेपछि इंग्ल्यान्ड ४–० ले अगाडि रह्यो।

दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमनको प्रयास गर्‍यो। फ्रान्सका लागि कप्तान किलियन एमबाप्पेले ४८ र ६८ औं मिनेटमा दुई गोल गरे भने ५४ औं मिनेटमा ब्राडली बारकोलाले एक गोल थपे।

तर, ८७ औं मिनेटमा साकाले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे। दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा फ्रान्सका ओसमन डेम्बेलेले चौथो गोल गरे पनि त्यसको दुई मिनेटपछि जुड बेलिंघमले गोल गर्दै इंग्ल्यान्डको ६–४ को जित पक्का गरे।

हारका बाबजुद फ्रान्सका कप्तान एमबाप्पे १० गोलसहित यस विश्वकपको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहँदै गोल्डेन बुटको बलियो प्रत्यासी बनेका छन्। उनले ८ गोल गरेका लियोनल मेसीलाई उछिनेका हुन्। यससँगै विश्वकप इतिहासमा एमबाप्पेको कुल गोल संख्या २२ पुगेको छ।