07/12/2026, 22:08:56
आइतबार, असार २८, २०८३
एसिसी यू–१९ महिला प्रिमियर कप

एसिसी यू–१९ महिला प्रिमियर कप : नेपालको दोस्रो जित


काठमाडौँ, असार २८ गते । मलेसियामा जारी एसिसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

समूह ‘डी’ अन्तर्गत आइतबार भएको खेलमा नेपालले सिङ्गापुरलाई एक सय ५१ रनले हरायो । जितका लागि नेपालले दिएको दुई सय रनको लक्ष्य पछ्याएको सिङ्गापुर निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ४८ रनमा समेटिएको थियो ।

सिङ्गापुरका लागि अङ्कितावर्षा राजले १९ रन बनाउनुभयो । बलिङमा नेपालकी अनु कडायतले तीन विकेट लिनुभयो । मनिषा उपाध्याय र रिया शर्माले दुई दुई तथाकप्तान सोनी पाख्रिनले एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा बिनाविकेटको क्षति एक सय ९९ रन बनाएको थियो । नेपालका लागि ओपनर सना प्रवीणले अविजित सर्वाधिक ९८ र साबित्री धामीले ७४ रन बनाउनुभयो ।

नेपालले समूह चरणको अन्तिम खेल मङ्गलबार हङकङसँग खेल्ने छ । जितसँगै नेपाल क्वार्टर फाइनल नजिक पुगेको छ । प्रतियोगितामा नेपालसहित सहित १३ देशको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा थाइल्यान्ड, म्यान्मार र जापान रहेको छ । समूह ‘बी’ मा युएई, ओमान र भुटान रहेको छ । समूह ‘सी’ मा इन्डोनेसिया, मलेसिया र कुवेत तथा समूह ‘डी’ मा हङकङ, सिङ्गापुर र कतार रहेको छ ।

समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्ने छन् । त्यसबाट चार टोली सेमिफाइनल र दुई टोली फाइनलमा पुग्ने छन् । फाइनल खेल साउन २ गते हुने छ ।