ललितपुर, जेठ २३ गते । पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो बाँकी जीवन साहित्य क्षेत्रमै व्यतीत गर्ने बताउनुभएको छ । ललितपुरमा आयोजित ‘काठमाडौँ कलिङ्ग साहित्य महोत्सव’ लाई सम्बोधन गर्दै कार्कीले आफूलाई केवल पूर्वप्रधानन्यायाधीशका रूपमा मात्र नभई एक साहित्य अनुरागीका रूपमा बुझिदिन आग्रह गर्नुभएको हो ।
उहाँले न्यायपालिकामा आफूले निर्वाह गरेको भूमिका बाध्यता र कर्तव्यको उपज भएको बताउँदै साहित्य भने आफ्नो अन्तर्मनको रुचि भएको स्पष्ट पार्नुभयो । आफ्नो साहित्यिक यात्राको स्मरण गर्दै कार्कीले वि.सं. २०४६ को जनआन्दोलनका क्रममा जेल पर्दाको अनुभव सुनाउनुभयो ।
दुई महिनाको जेल जीवनमा त्यहाँका महिला बन्दीहरूको पीडा र भोगाइलाई नजिकबाट नियालेपछि आफूले ‘कारा’ नामक उपन्यास लेखेको उहाँले जानकारी दिनुभयो । उक्त उपन्यास उहाँले सेवानिवृत्त भएपछि मात्र प्रकाशनमा ल्याउनुभएको थियो ।
आफूसँग अझै धेरै कथा र उपन्यासका अवधारणा तथा आधा लेखिएका पाण्डुलिपिहरू रहेको जानकारी दिँदै उहाँले ती कृतिहरू क्रमशः पाठकमाझ ल्याउने आफ्नो योजना रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल र भारतका ख्यातिप्राप्त कवि तथा लेखकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






















