काठमाडौँ, जेठ २३ गते । दिल्लीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई दिइएको उच्चस्तरीय सम्मानले काठमाडौंको कूटनीतिक र राजनीतिक वृत्त यतिबेला तरंगित बनेको छ । लामिछाने पाँचदिने भारत भ्रमण पूरा गरेर शुक्रबार स्वदेश फर्किएका छन् ।
तर दिल्लीबाट आइरहेका संकेतहरू हेर्दा, भारतीय सरकार रास्वपा नेतृत्वको नयाँ सरकारसँग सम्पर्क र सहकार्य यतिमै रोकिने देखिँदैन । यसैबीच परराष्ट्रमन्त्री शिशिर खनाल समकक्षी एस जयशंकरको निमन्त्रणामा औपचारिक भ्रमणका लागि शुक्रबार दिल्ली प्रस्थान गरेका छन् । खनालको भ्रमणका क्रममा दुवै पक्षबीच केही सम्झौता र समझदारी हुने अपेक्षा गरिएको छ । यद्यपि दुवै पक्षका उच्च अधिकारीहरूबीच ती विषयमा अझै पनि छलफल जारी छ ।
काठमाडौं र दिल्लीका कूटनीतिक स्रोतहरूले कान्तिपुरलाई दिएको जानकारी अनुसार दिल्ली अर्थमन्त्री स्वर्णिम वाग्लेलाई पनि जुन महिनाभित्रै स्वागत गर्न उत्सुक छ ।
यसरी हेर्दा दिल्ली रास्वपासँग मात्र नभई, विदेशी राजदूतहरूलाई नभेट्ने ‘प्रोटोकल’ मा अडिएका शाह सरकारसँग पनि समान रूपमा जोडिन चाहन्छ । काठमाडौंमा नयाँ राजनीतिक नेतृत्व आउनासाथ सम्पर्क र सहकार्यका लागि तत्परता दिल्लीको परम्परा नै रहेको दिल्लीस्थित नेपाली दूतावासमा काम गरिसकेका एक नेपाली कूटनीतिज्ञ बताउँछन् ।
संविधानसभा चुनावपछि माओवादीको उदय होस् वा पछि २०१८ मा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर नेपाल कम्युनिस्ट पार्टी बन्दा पनि सबैभन्दा पहिले प्रतिक्रिया जनाउने र सहकार्यको घोषणा गर्ने मुलुक भारत नै थियो । सन् २०१८ मा एमाले र माओवादी केन्द्रको संयुक्त मोर्चाले चुनावमा प्रचण्ड जित हासिल गरेपछि भारतका तत्कालीन विदेशमन्त्री सुषमा स्वराज नयाँ गठित केपी ओली सरकारसँग संवाद र सहकार्य अघि बढाउन काठमाडौं नै आएकी थिइन् ।


यस पटक दशकौंपछि काठमाडौंमा एक शक्तिशाली सरकार गठन भएपछि नयाँदिल्लीले लामिछानेलाई स्वागत गर्यो र कुनै पनि भ्रमणकारी प्रधानमन्त्रीसरहको सम्मान र व्यवहार प्रदान गर्यो । तर लामिछानेलाई दिइएको यो सम्मान र भव्य स्वागत पछाडिका कारणहरूले रास्वपाको आन्तरिक गतिशीलता, प्रधानमन्त्री शाह र लामिछानेबीचको सम्बन्ध, कूटनीतिक शिष्टाचार कायम राख्ने सवालमा प्रधानमन्त्रीको स्वघोषित बन्देज, सीमा विवादबारे संसद्मा उनले दिएको अभिव्यक्ति र भारतीय विदेश सचिव विक्रम मिस्रीलाई भेट्न शाहले गरेको इन्कारलाई लिएर अनेकौं अर्थ र अड्कलबाजीहरू उब्जाएका छन् । शाहमाथि दबाब बढाउन, ताकि उनी विभिन्न साझेदारीका लागि दक्षिण (भारत) तर्फ हेर्न बाध्य होऊन् भनेर यसो गरिएको विश्लेषण पनि भइरहेको छ ।
यी व्यापक अड्कलबाजी र हल्लाहरूका बीच शाहको सट्टा लामिछानेले दिल्लीको भ्रमण गरे र नयाँदिल्लीमा कुनै पनि नेपाली नेताका लागि विरलै मिल्ने अविस्मरणीय र दुर्लभ स्वागत पाए ।
मंगलबार जब लामिछाने पण्डित दीनदयाल उपाध्याय मार्गस्थित भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयको प्रांगणमा प्रवेश गर्न लागेका थिए, उनलाई ‘फूलको वर्षा’ सहित भव्य स्वागत गरियो र भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन तथा अन्य वरिष्ठ भाजपा नेताहरूले उनलाई स्वागत गरे । त्यसपछि उनीहरूले लामिछाने, उनकी पत्नी निकिता पौडेल लामिछाने र रास्वपाका दुई सांसद विपिन आचार्य र दीपक बोहरालाई मुख्यालयको भ्रमण गराए ।
भाजपाले आफ्नो मुख्यालयमा विदेशी नेताहरूलाई यसरी भव्य स्वागत गरेको यो एकदमै दुर्लभ क्षण थियो, लामिछानेको दिल्ली भ्रमणलाई नजिकबाट नियालिरहेका एक भारतीय पत्रकारले भने । सरकारका तर्फबाट उनलाई जुन सम्मान दिइयो, त्यो पनि निकै विरलै हुने घटना हो ।
‘उनी सत्ताधारी दलका अध्यक्ष मात्र हुन्, नेपालका प्रधानमन्त्री होइनन् । तर सबै प्रकारका परम्परागत ढाँचा र कूटनीतिक शिष्टाचार (प्रोटोकल) लाई तोड्दै सरकारले उनलाई जुन उच्च सम्मान दियो, त्यो दुर्लभ र निकै आश्चर्यजनक छ । यसले के देखाउँछ भने भाजपा र भारतीय सरकार काठमाडौंमा बलियो सरकार भएको समयमा यो नयाँ शक्तिशाली सरकारसँग मिलेर काम गर्न र द्विपक्षीय सम्बन्धमा नयाँ मार्गचित्र कोर्न चाहन्छन् ।’
उनीहरूबीच रास्वपा र भाजपाबीचको पार्टी–पार्टी सम्बन्ध प्रवर्द्धन गर्ने विषयमा छलफल भयो र दुई दलबीच सहयोगका थप क्षेत्रहरू खोल्ने निर्णय गरियो ।


मंगलबार साँझ भाजपाको वैदेशिक मामिला विभागका प्रमुख विजय चौथाइवालेले लामिछाने र भ्रमणकारी रास्वपा प्रतिनिधिमण्डलका लागि रात्रिभोजको आयोजना गरे, जहाँ प्रभावशाली भाजपा नेताहरू र केही भूतपूर्व कूटनीतिज्ञहरूको उपस्थिति थियो ।
अर्को आश्चर्यको कुरा लामिछानेको गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकरसँगको भेट थियो । त्योभन्दा पनि विदेशी नेताहरूलाई विरलै भेट्ने भारतीय गृहमन्त्री शाह र लामिछानेबीचको भेटघाटलाई निकै अर्थपूर्ण मानिएको छ । ‘गृहमन्त्री (शाह) ले विदेशी नेता (लामिछाने) लाई भेट्नु निकै ठूलो अपवाद हो,’ भारतीय समाचार संस्था ‘द हिन्दु’ की कूटनीतिक सम्पादक सुहासिनी हैदरले सामाजिक सञ्जाल एक्समा लेखेकी छन् ।
लामिछाने, रास्वपा प्रतिनिधिमण्डल र दिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापासहितको टोलीले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक घण्टाभन्दा बढी वार्ता गरेको थियो । भेटमा नेपाल–भारत सम्बन्धको नयाँ मार्गचित्र, रास्वपाले अघि सारेको विकास कूटनीति, नेपालका प्राथमिकताहरूमा भारतको साझेदारी र सहयोग तथा आगामी दिनमा हुने उच्चस्तरीय भ्रमण र आदानप्रदानबारे छलफल भएको थियो । त्यसक्रममा लामिछानेले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणासमेत दिएका थिए । मोदीले उपयुक्त समयमा आफू नेपाल आउने जवाफ दिए ।
मोदीसँगको भेटअघि नै हैदरले एक्समा लेखेकी थिइन्, ‘प्रधानमन्त्रीले आज (लामिछानेलाई) भेट्ने अपेक्षा गरिएको छ ।’ उनले थप टिप्पणी गर्दै भनेकी छन्, ‘रोचक कुरा के छ भने, नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको कडा अभिव्यक्ति र विदेश सचिव मिस्रीलाई भेट्न अस्वीकार गरेपछि दिल्लीले उनका पार्टी प्रमुखलाई रातो कार्पेट ओछ्याएको छ ।’
काठमाडौं र दिल्लीबीचका पछिल्ला घटनाक्रमले द्विपक्षीय सम्बन्ध अन्योलको चरणमा प्रवेश गरिरहेको संकेत गर्दछ । यी घटनाक्रमहरूमा प्रधानमन्त्री शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता नहुनु र ‘प्रोटोकल’ को कारण देखाएर शाहले भारतीय विदेश सचिव विक्रम मिस्रीलाई भेट्न अस्वीकार गरेका जस्ता घटनाले द्विपक्षीय सम्बन्धमा अन्योल थपेको छ । त्यसमाथि सतहमा आएको नेपाल–भारत सीमा विवाद र प्रधानमन्त्री शाहले गत आइतबार प्रतिनिधिसभामा दिएको भारतीय भूमि मिचेको भन्ने अभिव्यक्तिले परिस्थितिलाई थप जटिल बनाएको छ ।
यसैबीच कालापानी, लिम्पियाधुरा र लिपुलेकको लामो समयदेखिको विवाद समाधान गर्ने उद्देश्यले सरकारले ब्रिटिस इन्डिया कालका कागजातहरू, नक्साहरू र अन्य प्रमाणहरू खोज्न बेलायती दूतावासलाई सम्पर्क गरेको घटनाले नेपाल–भारत सम्बन्धलाई थप अनिश्चिततातर्फ धकेलेको देखिन्छ ।
लामिछानेले भाजपा र भारत सरकारबाट पाएको स्वागत र भेटघाट उच्चस्तरी दक्षिण एसियाका नेताहरूका लागि विरलै प्राप्त हुन्छ । दुई दिनमै मोदी, शाह, जयशंकर, डोभाल र भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनजस्ता शीर्ष भारतीय अधिकारीहरूसँग लामिछानेको भेटघाट भयो ।
मोदीसँगको भेटघाट र वातावरण कुनै औपचारिक सरकारी प्रतिनिधिमण्डलको बैठकजस्तै देखिन्थ्यो । मोदीका साथमा जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव मिस्री र अन्य अधिकारीहरू थिए । नेपालका तर्फबाट लामिछाने, उनकी पत्नी निकिता, रास्वपाका दुई सांसद आचार्य र बोहरा तथा कार्यवाहक नेपाली राजदूत थापा उपस्थित थिए । बैठकपछि लामिछाने र मोदी उभिएरै कुरा गरेका थिए । त्यो दृश्यमा उनीहरूले एकअर्कालाई वर्षौंदेखि चिनेको जस्तो देखिन्थ्यो ।
‘उनलाई दिल्लीमा यस्तो दुर्लभ स्वागत गरियो भनेर मात्र सोच्नु हुँदैन किनभने अन्य धेरै नेताहरूले पनि मोदीलाई भेट्ने अवसर पाएका थिए,’ भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्यायले भने ।


रविको भ्रमणको स्वामित्व नलिएर सरकारले गल्ती गरेको उपाध्यायको टिप्पणी छ । ‘सरकारले भ्रमणको स्वामित्व नलिएर गल्ती गरिसकेको छ । तर, भ्रमणलाई औपचारिकता दिन एक जना मन्त्री पनि सँगै लैजानुपर्थ्यो,’ उपाध्यायले भने, ‘सरकारले रविलाई विशेषदूत घोषणा गर्नुपर्छ तब मात्र भारतीय नेतृत्वसँगको समझदारीले मूर्त रूप पाउनेछ । सरकारले स्वामित्व नलिएमा दिल्लीमा भएका समझदारीहरूको कुनै अर्थ छैन ।’
केही दिनअघि पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले लामिछानेको भारत भ्रमणका विषयमा अनभिज्ञता प्रकट गर्दै भ्रमणलाई नितान्त व्यक्तिगत भएको टिप्पणी गरेका थिए । भ्रमणपछि पनि सरकारका तर्फबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन ।
लामिछाने र मोदीबीचको भेटमा नेपाल सरकारका प्राथमिकताहरूका बारेमा छलफल भएको थियो । मोदीले नेपालले प्राथमिकताहरू तय गरेपछि त्यसमा भारत सहयोग गर्न तत्पर रहेको स्पष्ट पारेका थिए । यसै सन्दर्भमा नेपालका तर्फबाट प्रारम्भिक गृहकार्य भएपछि परराष्ट्रमन्त्री खनाल शुक्रबार दिल्ली प्रस्थान गरेका छन् ।
पूर्वनेपाली राजदूत उपाध्याय दिल्लीले नेपालको आन्तरिक राजनीतिभित्र के–कसरी चलखेल गर्छ भन्ने विषयमा भलिभाँती परिचित छन् । जुन काठमाडौंका लागि पनि नौलो विषय होइन । ‘भारतीयहरूले नेपालको पार्टी राजनीतिभित्र सधैं खेल्न चाहन्छन् । र, दिल्लीले जहिल्यै आफ्नो स्वार्थ र हित मात्र हेर्छ भन्ने बुझ्नुपर्छ,’ पूर्वराजदूत उपाध्यायले भने, ‘त्यसैले भारतीयहरूसँग व्यवहार गर्दा रविले सचेत पनि हुनुपर्छ ।’
तर नेपालको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका भारतीय विश्लेषकहरूका अनुसार, लामिछानेको भ्रमणबाट भारतीय पक्षले द्विपक्षीय सम्बन्ध कति नजिक छ र नेपाली नेताहरूसँग संवाद गर्नका लागि आफूसँग धेरै विकल्प र माध्यमहरू छन् भन्ने एउटा प्रस्ट सन्देश प्रधानमन्त्री शाहलाई दिएको छ ।
‘रास्वपाले आफूसँग पुरानो बोझ छैन भनेकाले पनि सम्बन्धका नयाँ आयामहरू खोल्न मद्दत गरेको छ । साथै लामिछानेको भ्रमण भारतीय निम्तोलाई बेवास्ता गर्ने प्रधानमन्त्री शाहका लागि पनि एउटा सन्देश हो । साथै जेन–जी पुस्तालाई भारत उनीहरूको साथमा छ भन्ने सन्देश हो ।’
– अनिल गिरी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











































