काठमाडौँ, जेठ २२ गते । गत चैतमा मोरङबाट फैलिएको बर्डफ्लु (एच-फाइभ एन-वान) पछिल्लो समय काठमाडौं उपत्यकामा फैलिएको छ । पशु सेवा विभागका अनुसार चैत ४ गते मोरङको सुन्दरहरैचा-४ र उर्लाबारी-८ बाट फैलिएको बर्डफ्लु १० जिल्लाका ५५ फार्ममा देखिएको छ ।
विभागका महानिर्देशक डा. उमेश दाहालले पछिल्लो समय अन्य जिल्लामा अहिले नियन्त्रणमै रहे पनि काठमाडौं उपत्यकामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपत्यकाका कीर्तिपुर, गोकर्णेश्वर, तारकेश्वर, गोदावरी, सूर्यविनायक र भक्तपुर नगरपालिकामा रहेका फार्ममा बर्डफ्लु देखिएको हो ।
महानिर्देशक डा. दाहालले काठमाडौंमा लोकल र लेयर्स प्रजातिका कुखुरामा संक्रमण देखिएको जानकारी दिए । ‘जैविक सुरक्षा नअपानाइएका र अव्यवस्थित फार्ममा बर्डफ्लु देखिएको छ । कतिपय ठाउँमा जंगलको छेउछाउमा रहेका फार्महरूमा पनि संक्रमण देखिएको छ,’ उनले भने । गत चैतमा कीर्तिपुर र टौदह क्षेत्रमा मरेका कागमा बर्डफ्लु पुष्टि भएको थियो ।
काठमाडौं, भक्तपुर र ललितपुरका १३ वटा फार्म बर्डफ्लुबाट प्रभावित भएका छन् । काठमाडौंका ८ फार्ममा ३९ हजार ४ सय ८१ कुखुरा नष्ट गरिएको छ । त्यस्तै काठमाडौंमा ६३ हजार ८ सय ५४ अण्डा र २१ हजार ५ सय किलो दाना नष्ट गरिएको छ । त्यस्तै भक्तपुरका २ वटा फार्मका ४ सय १७ कुखुरा नष्ट गरिएको छ । ललितपुरका ३ वटा फार्मका ९ हजार ७ सय ३० कुखुरा, ३ हजार १ सय ५० गोटा अण्डा र ३ हजार ७ सय किलो दाना नष्ट गरिएको छ ।
पशु सेवा विभागको १८ गतेसम्मको तथ्यांक अनुसार सुनसरीमा सबैभन्दा बढी २३ वटा कुखुरा फार्म प्रभावित भए । त्यस्तै मोरङमा ११, झापामा ४, चितवन, नवलपरासी पश्चिम, बारा र महोत्तरीको एउटा कुखुरा फार्ममा बर्डफ्लु भेटिएको थियो ।


विभागको पछिल्लो तथ्यांकअनुसार सबै फार्ममा गरी ४ लाख ७९ हजार १ सय ५६ कुखुरा तथा हाँस नष्ट गरिएको छ । त्यस्तै ६ लाख ९४ हजार १ सय ९३ वटा अण्डा र १ लाख ८२ हजार ७ सय ७५ किलो दाना पनि नष्ट गरिएको छ ।
महानिर्देशक डा. दाहालले संक्रमण पुष्टि भएलगत्तै कुखुरा, अण्डा र दाना नष्ट र निसंक्रमण गरिएको बताए । उनी भन्छन्, ‘बर्डफ्लु फैलिन नदिने उपाय भनेकै जैविक सुरक्षा अपनाउनु हो । कतिपय फार्ममा प्रयोग भइसकेको अण्डा राख्ने क्रेट पुन: प्रयोग गरिएको पनि पाइयो ।’ उनले पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउन पनि किसानहरूलाई आग्रह गरेका छन् ।
बर्डफ्लु संक्रमणको मुख्य कारकका रूपमा विभागले विभिन्न पहिचानसमेत गरेको छ । विभागका अनुसार फार्मनजिकै रहेका अग्ला रुखहरू जंगली चारहरूको बासका लागि उपयुक्त छन् । जहाँका चराहरू फार्ममा पालिएका कुखुरा, हाँसलगायतका पन्छीहरूको सम्पर्कमा आउने भएका कारण पनि संक्रमण फैलिएको हुन सक्ने विभागको आकलन छ ।


त्यसैगरी फार्महरू सिमसार क्षेत्रको नजिक रहेको, मानक जैविक सुरक्षामा ध्यान नदिँदा, सवारी साधन र आगन्तुकहरूको अनियन्त्रित आवतजावत र अण्डा राख्ने क्रेटहरूलाई उचित रूपमा निसंक्रमण नगरी पुनः प्रयोग गर्नु र एउटै व्यक्तिले पर्याप्त सुरक्षात्मक उपायबिना जीवित कुखुरा र कुखुराको मासुको व्यापार गर्नु पनि संक्रमण फैलिने कारण हुन सक्ने विभागले जनाएको छ
किसानले कसरी पाउँछन् क्षतिपूर्ति ?
विभागकी डा. महानिर्देशक दाहालले किसानले ‘बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुहरूको राहतसम्बन्धी मापदण्ड‘ २०७९ अनुसार राहत पाउने बताए । क्षतिपूर्ति बजारमूल्य अनुसार निर्धारण हुन्छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने दररेट निर्धारण समितिको सिफारिसका आधारमा लागत मूल्यको ७५ प्रतिशतसम्म किसानले राहत पाउने व्यवस्था रहेको छ ।
बर्डफ्लु कुखुरा, हाँस लगायतका पन्छीमा लाग्ने संक्रामक भाइरल घातक रोग मानिन्छ । संक्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्क, फोहोर वा संक्रमित सामग्रीमार्फत यो रोग फैलिन सक्ने र दुर्लभ अवस्थामा मानिसमा पनि संक्रमण हुन सक्ने पशु चिकित्सकहरू बताउँछन् ।


नेपालमा पहिलोपल्ट सन् २००९ मा झापामा बर्डफ्लु ‘डिटेक्ट’ भएको थियो । त्यसको १० वर्षपछि नेपालमा सन् २०१९ मा बर्डफ्लु संक्रमणबाट एक जना मानिसको मृत्यु भएको थियो । काभ्रेका २१ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको थियो । उनमा ज्वरो र खोकीको लक्षण देखिएको थियो ।
मरेका पन्छीलाई जतिसक्दो चाँडो खाडलमा गाड्नुका साथै पन्छी फार्ममा काम गर्ने व्यक्तिमा कुनै स्वास्थ्य समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि विभागले आग्रह गरेको छ ।
कसरी जोगिने ?
– बिरामी वा मरेको पन्छीलाई नछुने
– बर्डफ्लु देखिएको ठाउँमा कसैसँग हात नमिलाउने
– पन्छीसँगको सीधा सम्पर्कबाट बच्ने
– सुली नछुने
– घरमा पालेको पन्छी पिँजडा र भाँडाकुँडा दिनहुँ सफा गर्ने
– कुखुरा उत्पादनसम्बन्धी काम गर्ने बेला मास्क र पञ्जा लगाउने
– मासु एक सय डिग्री तापक्रममा पकाएर मात्रै खाने
– काँचो वा आधा पाकेको मासु वा अण्डा नखाने
– सरसफाइमा विशेष ध्यान दिने
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































