सुलीकोट, जेठ २२ गते । गोरखाको अजिरकोट गाउँपालिका–१ मा अवस्थित नागेपोखरी पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। समुद्री सतहबाट तीन हजार २५५ मिटर उचाइमा रहेको यो रमणीय स्थल प्राकृतिक सौन्दर्य, शीतल वातावरण तथा धार्मिक महत्वका कारण पर्यटकको रोजाइमा पर्न थालेको हो।
विशेषगरी गर्मी मौसम सुरु भएसँगै तराई तथा भित्री मधेशका विभिन्न जिल्लाबाट नागेपोखरी पुग्ने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्ने गरेको छ। अत्यधिक गर्मीबाट राहत पाउन, शीतल हावापानी र मनोरम प्राकृतिक दृश्यको आनन्द लिन आउने पर्यटकका लागि नागेपोखरी उत्कृष्ट गन्तव्य बनेको अजिरकोटको भच्चेक बजारका स्थानीयवासी बताउँछन्।
अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाका अनुसार गर्मी छल्न आउने पर्यटकका कारण यस क्षेत्रमा हरेक वर्ष पर्यटकीय सिजन लाग्ने गरेको छ। उहाँले भन्नुभयो, “नागेपोखरीबाट गणेश हिमाल र बुद्ध हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। यही दृश्यावलोकनका लागि पनि धेरै पर्यटक यहाँ आउने गरेका छन्।”


नागेपोखरी क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले विभिन्न योजना अघि बढाएको छ। पालिकाका अनुसार बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक्स सर्किट ट्रेलका रूपमा यस क्षेत्रको विकास गर्ने लक्ष्यसहित रुविनालाबाट सुरु भएर दूधपोखरी, दोर्दी हुँदै मर्स्याङ्दीसम्म पुग्ने पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम भइरहेको छ।
नागेपोखरीबाट बुद्ध हिमाल, गणेश हिमाल, हरिया डाँडाकाँडा तथा रातो, सेतो, गुलाबी र नीलो रङका लालीगुराँससहितका प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ। यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यले पर्यटकलाई विशेष रूपमा आकर्षित गर्ने गरेको छ। शान्त वातावरण, स्वच्छ हावा र प्राकृतिक सुन्दरताले भरिपूर्ण यो क्षेत्र प्रकृतिप्रेमी तथा पदयात्रामा रुचि राख्नेहरूका लागि विशेष आकर्षण बनेको अध्यक्ष देवकोटाले बताउनुभयो।
नागेपोखरी धार्मिक तथा सांस्कृतिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ। स्थानीय विश्वासअनुसार कैलाश पर्वतको गोप्य ओडारमा बस्ने दुर्लभ नागदेवताको अमृतमय विषबाट बनेको जलले यो पोखरी निर्माण भएको हो। यही विश्वासका कारण यस क्षेत्रलाई धार्मिक आस्थाको केन्द्रका रूपमा पनि लिइन्छ।
स्थानीयवासीले नागपञ्चमीका अवसरमा नागेपोखरीमा विशेष पूजा–आराधना गर्ने परम्परा कायम राखेका छन्। पोखरीसँग जोडिएका स्थानीय किंवदन्ती र धार्मिक विश्वासले यसको पहिचानलाई थप मजबुत बनाएको छ।


पछिल्लो समय गाउँपालिकाको पहलमा पदमार्ग विस्तार तथा पहुँच सुधारका काम सुरु भएपछि नागेपोखरी पुग्न सहज बन्दै गएको छ। भच्चेकको सिरानडाँडाबाट करिब पाँचदेखि छ घण्टाको पैदल यात्रापछि नागेपोखरी पुग्न सकिन्छ।
हाल त्यहाँ होटल वा होमस्टेको सुविधा नभएकाले पर्यटकले आवश्यक खाद्यान्न तथा सामग्री आफैँ बोकेर जानुपर्ने गाउँपालिकाले जनाएको छ।
स्थानीय तहले आवश्यक पूर्वाधार विकास, पदमार्ग निर्माण र प्रभावकारी प्रचारप्रसारमा थप ध्यान दिन सके नागेपोखरी नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने सम्भावना रहेको देखिन्छ। प्राकृतिक सौन्दर्य, चिसो हावापानी र धार्मिक महत्त्वको संगमका रूपमा रहेको नागेपोखरी अहिले पर्यटकमाझ लोकप्रिय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ।
– गुणबहादुर रोका
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












































