काठमाडौँ, जेठ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणलाई राजनीतिक उद्देश्यभन्दा पनि नेपालको आर्थिक समृद्धि र विकाससँग जोडेर प्रस्तुत गर्नुभएको छ ।
नयाँ दिल्लीमा राजनीतिक समीकरण नभई समृद्धिको नयाँ ढोका खोल्ने लक्ष्यसहित आफू भारत आएको उहाँले बताउनुभएको हो । प्रवासी नेपाली सम्पर्क मञ्च भारतद्वारा नयाँ दिल्लीमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै सभापति लामिछानेले नेपाललाई आर्थिक रूपमा सबल बनाउने अभियानमा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल अब केवल सम्मानित राष्ट्रका रूपमा सीमित नभई समृद्ध राष्ट्र बन्नु पर्छ । नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न धेरै नेता आएका छन्, म भने समृद्धिको ढोका खोल्ने उद्देश्यका साथ आएको हुँ ।”
उहाँले समृद्ध नेपालको साझा सपनालाई साकार पार्न सहकार्यको वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता रहेकोमा समेत जोड दिनुभयो । भारतसँग आफ्नो कुनै व्यक्तिगत वा दलगत स्वार्थ नरहेको स्पष्ट पार्दै उहाँले नेपाल र नेपालीको हितबाहेक अर्को कुनै एजेन्डा नरहेको बताउनुभयो । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा प्राप्त सम्मान सम्पूर्ण नेपाली समुदायको सम्मान रहेको बताउँदै उहाँले भारतले पछिल्लो एक दशकमा विकास र पूर्वाधार निर्माणमा हासिल गरेको प्रगतिलाई नजिकबाट नियालिरहेको बताउनुभयो ।
सभापति लामिछानेले छिमेकी मुलुकको अनुभवबाट नेपालले लाभ उठाउनुपर्नेमा जोड दिँदै कूटनीतिक तथा आर्थिक सहकार्यका माध्यमबाट नेपाललाई विकासको नयाँ चरणमा प्रवेश गराउने प्रयासमा आफू सक्रिय रहेको बताउनुभयो ।
प्रवासमा लामो समय बिताएकाले विदेशमा रहेका नेपालीका समस्या र पीडा आफूले नजिकबाट अनुभूत गरेको बताउँदै उहाँले प्रवासी नेपालीका अपेक्षा सम्बोधन गर्न रास्वपा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले स्वदेशमै रोजगारी, शिक्षा र स्वास्थ्य सेवाको भरपर्दो व्यवस्था गरेर नेपालीलाई आफ्नै देशमा भविष्य देख्ने वातावरण सिर्जना गर्नुपर्ने बताउँदै राजनीतिक भागबन्डाको संस्कृति अन्त्य गर्ने प्रतिबद्धता दोहो¥याउनुभयो ।
विदेशमा रहेका नेपालीलाई आफ्नो सिप, अनुभव र पुँजी स्वदेशको विकासमा लगानी गर्न आग्रह गर्दै उहाँले परिवर्तनको अभियानमा सहभागी हुन आह्वान गर्नुभयो । सो अवसरमा एभरेस्ट चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले प्रवासी नेपालीका समस्या तथा सरोकार समेटिएको ज्ञापनपत्र सभापति लामिछानेलाई हस्तान्तरण गरिएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










































