काठमाडौँ, जेठ २० गते । चक्रपथ विस्तारअन्तर्गत करिब १६ किलोमिटर सडक आठ वर्ष पुग्दा पनि निर्माण हुन सकेको छैन । २०६९ सालमा पहिलो खण्ड कोटेश्वर–कलंकीको विस्तार थालिएको थियो । २०७५ सालमा उक्त खण्डको काम सकिए पनि त्यसपछि कलंकी–कोटेश्वर खण्डको विस्तारले गति लिन सकेको छैन ।
पहिलो खण्डको काम सकिएको आठ वर्षपछि बल्ल दोस्रो खण्ड कलंकी–बसुन्धरा खण्ड (८.२ किलोमिटर) को विस्तार गर्न सुरसार गरियो । तर अहिलेसम्म यस खण्डमा काम अघि बढ्न सकेको छैन । अहिले बसुन्धरा चोक नजिकसम्म मात्र सडक विस्तार गर्ने तयारी हुँदै छ । चीन सरकारसँग सन् २०१८ मा यो सडक खण्ड विस्तारका लागि जीटुजी सम्झौता भएको थियो । चिनियाँ टोलीले पूर्वतयारीका काम नटुंग्याई नआउने अडान लिए । कोभिडका कारण पनि काम पछि धकेलिएको थियो ।
२७ किमिको चक्रपथमा अहिलेसम्म ११.०९ किमि मात्र विस्तार पूरा भएको छ । अझै १५.९१ किमि विस्तारमा अन्योल छ । बसुन्धरादेखि नारायणगोपाल चोकसम्मको करिब ६ सय मिटर सडक खण्डमा पर्ने घरटहरा भत्काउन समस्या भएपछि काम हुन सकेको छैन । कलंकीदेखि नारायणगोपाल चोकसम्म सडक विस्तारका लागि पहिला चीन सरकारले नै सरकारी निकायसँग छलफल गरेको थियो । तर, उक्त क्षेत्रमा घरलगायत संरचना भत्काउन समस्या देखेपछि चीन पछि हटेको थियो । त्यसपछि चीनले कलंकीदेखि बसुन्धरा कल्भर्ट नजिकसम्म मात्र सडक विस्तार गर्ने योजना अघि सारेको र त्यहीअनुसार प्रक्रिया अघि बढाइएको थियो ।


दोस्रो खण्ड विस्तारका लागि आयोजना कार्यान्वयन सम्झौतापत्रमा १६ वैशाख २०८३ मा हस्ताक्षर भए पनि अहिलेसम्म काम अघि बढ्न नसकेको हो । पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच सम्झौतापत्रमा हस्ताक्षर गरी यसलाई छिटो कार्यान्वयनमा लग्ने तयारी थियो । दोस्रो खण्ड विस्तारका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । १२ फागुनमा मन्त्रिपरिषद् बैठकबाट सरकारले निर्माण सामग्री र भन्सार छुटको निर्णय गरेसँगै उक्त विस्तारका लागि थप प्रक्रिया अघि बढाउन बाटो खुलेको थियो ।
यो खण्ड निर्माणका लागि चिनियाँ पक्षबाट फाइनल डिजाइन पेस भएपछि ठेक्काको काम अघि बढ्ने सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनप्रसाद अर्यालले बताए । ‘हामी छिटो गर्ने पक्षमै छौं, त्यहीअनुसार काम गरिरहेका छौं,’ उनले भने, ‘चिनियाँ पक्षबाट डिजाइन आइसकेको छैन, उतै बोलाउन पनि सक्छन्, डिजाइन पठाउन पनि सक्छन् ।’
अबको दुई साताभित्र यसको टुंगो लागिसक्ने दाबी उनको छ । त्यसपछि ठेक्का सम्झौता हुनेछ । कार्यान्वयन सम्झौता भएको जानकारी अघिल्लो साता मात्र विभागमा आएको उनले सुनाए । त्यसो भए यसको ठेक्का चालु आर्थिक वर्षमै हुन्छ त भन्ने प्रश्नमा अर्याल भन्छन्, ‘यो अनुदानमा बन्न लागेको सडक भएर यसै भन्न सक्ने अवस्था छैन, तर चालु आर्थिक वर्षभित्रै ठेक्का सम्झौता गरेर काम थाल्ने तयारी हाम्रो छ ।’
कोटेश्वरदेखि कलंकीसम्म २०६९ मा ठेक्का लागे पनि ६ वर्षपछि काम सकिएको थियो । चक्रपथ दोस्रो खण्डको सर्भे गर्न ६ वैशाख २०८२ मा चिनियाँ प्राविधिक टोली नेपाल आएको थियो । साढे दुई महिना लगाएर टोलीले डिजाइनका लागि सर्भे गरेको थियो । उक्त डिजाइनअनुसार ढुंगेधारामा एउटा पक्की पुल बन्नेछ । तीनवटा आकाशे पुल अपांगमैत्री बन्नेछन् । सीतापाइला, बालाजु र माछापोखरीको बीच र सामाखुसी बसुन्धरा प्रहरीचौकीको बीचमा आकाशे पुल बनाइनेछ ।


कलंकीदेखि बसुन्धरा चोकसम्म सडकबत्ती सडक विस्तारकै क्रममा चीनले बनाउने गरी डिजाइनमा राखिएको विभागले जनाएको छ । चक्रपथ तेस्रो खण्ड विस्तार भने नेपाल सरकारले आफ्नै लगानीमा निर्माण गरेको छ । अहिले उक्त खण्ड सबैको आकर्षणको केन्द्र बनेको छ । तेस्रो खण्डअन्तर्गत नारायणगोपाल चोकबाट चप्पल कारखानाको ७ सय मिटर विस्तार सकिएको हो । निर्माण थालेको १३ महिनामा काम सकिएको सडक डिभिजन कार्यालय काठमाडौंले जनायो । सडक विस्तारको ठेक्का अम्बुजा/एसके/काली जेभीले लिएको हो । भ्याटसहित ठेक्का रकम २४ करोड रुपैयाँ हो । यसलाई ६ लेनमा विस्तार गरिएको हो । बाँकी खण्डमा पनि सर्भिस लेनबाहेक ६ लेनमा विस्तार गरिनेछ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चक्रपथ भएर दैनिक ४ सयदेखि ५ सय हाराहारी यात्रुवाहक सवारी साधन गुड्छन् । बढ्दो सवारी चापले गर्दा दैनिक ट्राफिक जाम हुने गरेको छ । त्यो अनुसार द्रुत गतिमा चक्रपथ विस्तार हुन नसकेको सडक पूर्वाधार विज्ञहरूको भनाइ छ । नारायणगोपाल चोकदेखि गोपीकृष्ण (धोबीखोला पुल) सम्म नै तेस्रो खण्डमा विस्तार गर्न सकिन्थ्यो । बजेट अभावमा उक्त खण्डसम्म काम गर्न नसकिएको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख सुबोधकुमार देवकोटाले बताए । एकैचोटि काम गर्न रकम माग गर्दा नपाएको उनको गुनासो छ ।
१२ सय मिटरमा चालु आर्थिक वर्षमै ठेक्का गर्ने गरी तयारी भइरहेको प्रमुख देवकोटाले बताए । ‘चप्पल कारखानादेखि धोबीखोला पुलसम्म सडक विस्तारका लागि बहुवर्षीय स्रोत सहमति पाइसकेका छौं, लागत अनुमान तयार गरेर ठेक्का आह्वान गर्छौं,’ उनले भने, ‘५१ करोड रुपैयाँको स्रोत सहमति पाएका छौं, ठेक्का भएको १८ महिनाभित्र निर्माण सक्ने योजनामा छौं ।’ बसुन्धरादेखि नारायणगोपाल चोकसम्मको खण्डमा कसरी बनाउने भन्नेबारे विस्तृत रूपमा अध्ययन गरेपछि मात्र थाहा हुने उनको भनाइ छ । ‘उक्त खण्डमा अन्डरपास निर्माण गर्दा उपयुक्त हुन्छ कि भन्ने छ,’ उनले भने, ‘अन्डरपास बनाउन सकिए घर भत्काउनु पर्दैन, यो खण्डमा धेरै घरहरू पर्छन् ।’


आगामी आर्थिक वर्षको बजेटमा चक्रपथ विस्तारअन्तर्गत कलंकी–बसुन्धरा खण्डको विस्तार कार्य सुरु गरिने उल्लेख छ । त्यस्तै बसुन्धरा–चाबहिल–कोटेश्वर खण्डको डिजाइन सम्पन्न गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ । चीनले बनाउनेबाहेकको खण्ड सडक डिभिजन कार्यालय काठमाडौंको कार्यक्षेत्रभित्र पर्छ । चाबहिलबाट कोटेश्वरतर्फको खण्डमा भने काम गर्न समस्या छ । उक्त खण्डमा विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाहरू धेरै छन् । जुन खण्डको विस्तृत अध्ययन गरिसकेपछि के कसरी काम गर्ने र के–के विकल्पअनुसार अघि बढ्न सकिने कुरा थाहा हुने उनको भनाइ छ ।
सवारी चापलाई ध्यान दिँदै चक्रपथ विस्तारका कामहरू छिटो हुनुपर्नेमा केही ढिलाइ भएको पूर्वसचिव केशवकुमार शर्माले बताए । ‘दोस्रो खण्डमा कहिले चिनियाँ पक्षका कारण त कहिले नेपाल सरकारका कारण पनि ढिला भयो,’ उनले भने, ‘अब निर्माणमा ढिलाइ गर्न हुँदैन, कतिपय खण्डमा धेरै घर भएकाले त्यसको व्यवस्थापनमा कठिनाइ देखिएको छ ।’ केही खण्डमा विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाहरू भएकाले त्यहाँ कसरी काम गर्ने कुराले अलमल देखिएको उनले सुनाए ।
‘केही खण्डमा चीनले बनाइदिन्छ भनेर पनि पर्खिनुपरेको थियो,’ केही समयअघि सचिवबाट अवकाश पाएका उनले भने, ‘ढिलाइ भएपछि नेपाल सरकारको आफ्नै लगानीमा नारायणगोपाल–चप्पल कारखाना खण्डको काम सुरु गरेर सकिसकेको छ ।’ चक्रपथ र नदी करिडोरलाई राम्रो बनाउन सकिए उपत्यकाको ट्राफिक जाम व्यवस्थापन गर्न सकिने दाबी उनको छ ।
– विमल खतिवडा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































