

काठमाडौँ, जेठ १८ गते । पत्रकारिता क्षेत्र समाजको ऐना भएकाले जिम्मेवार र उत्तरदायी पेसा हुनुपर्ने विज्ञहरूले बताएका छन् । काठमाडौँ महानगरपालिका–१७ को सहयोगमा सम्पादक समाजद्वारा आइतबार आयोजित ‘नागरिकको अपेक्षा जिम्मेवार पत्रकारिता’ विषयक अन्तव्रिर्mयामा अतिथिसहित विषयविज्ञहरूले सत्य र सही सूचना प्राप्त गर्न पत्रकारिता क्षेत्र जिम्मेवार हुनुपर्ने मत राखेका हुन् ।
काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धरले सूचना प्रविधिका कारण पत्रकारिता पेसा सङ्कटमा परेकाले जोगाउनुपर्ने आवश्यकता देखिएको बताउनुभयो । महानगरका सूचना गोरखापत्रमा दिने सम्झौता भएकाले आफ्नो क्षेत्रका निजीस्तरमा सञ्चालित मिडियालाई समेत जोगाएर जिम्मेवार बनाउनुपर्ने मत राख्नुभयो । सम्पादक समाजले मिडिया र पत्रकारिता क्षेत्रको चिन्ता र चासो राखेर गहन रूपमा कार्यक्रम गर्दै आएकाले यसलाई नतिजामुखी बनाउन उहाँले आग्रह गर्नुभयो ।
अध्येता तोया गौतमले मिडियाका चुनौती र उत्तरदायित्वका विषयमा सविस्तार प्रस्तुति राख्नुभएको थियो । उहाँले गलत र भ्रामक सूचनाले नागरिकलाई गलत बाटोमा लैजान सक्ने हुँदा सही सूचनाका निम्ति पत्रकार जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
सम्पादक समाजका उपाध्यक्ष एवं गोरखापत्र राष्ट्रिय दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेतले मिडिया लोकतन्त्रको अक्सिजन भएकाले पत्रकारितालाई नागरिकले कसरी लिएका छन् भन्ने विषयमा गहन रूपमा लिई पत्रकारिताका कमीकमजोरी सुधार गर्नुपर्ने बताउनुभयो । “खानामा समस्या भए कुपोषण हुन्छ । पत्रकारितामा सही सूचना प्राप्त नभए नागरिकाई सही निर्णयमा पुग्न कठिन हुन्छ । त्यसैले मिडिया जिम्मेवार हुनु पर्छ,” उहाँले भन्नुभयो । मूलधारको पत्रकारितामा विश्वभर सङ्कट आएकाले प्रविधिको उपयोग गरेर समाधान खोज्नेतर्फ लाग्नुपर्ने उहाँको तर्क छ ।
मिडिया अध्येता एवं पत्रकार भुवन केसीले ७० प्रतिशतभन्दा बढी सूचना मिडियाकै भए पनि सामाजिक सञ्जालबाटै प्राप्त हुने भएकाले मिडिया साक्षरता बढाउनुपर्ने सुझाव दिनुभयो । भ्रामक र मिथ्या सूचनाको बाढी आएकाले मिडिया र पत्रकारले त्यसलाई चिरेर पत्रकारिता पेसालाई जिम्मेवार बनाउनुपर्ने उहाँको भनाइ थियो ।
काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष सुबोधबाबु चिलुवालले सबै मान्छे भाइरल हुन खोज्ने भएकाले मिडियामै प्रकाशित समाचारसमेत सत्य हो कि होइन भन्ने अवस्था रहेको बताउनुभयो । सम्पादक समाजका अध्यक्ष पुरु रिसाल र महासचिव श्याम डोटेलले प्रविधिको विकासका कारण मिडियाभन्दा अघि सामाजिक सञ्जालबाट सूचना आउने भएकाले मिडियालाई चुनौती थपिएको बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























