05/27/2026, 08:25:47
बुधबार, जेठ १३, २०८३

पहिलो रास्वपा महाधिवेशनबाट सभापतिमा लामिछानेलाई नै दोहोर्याउने तयारी, अन्य पदाधिकारीमा पनि सहमतिको प्रयास


काठमाडौँ, जेठ १३ गते । रास्वपाले चितवनमा आगामी ७–९ असारमा हुने पहिलो महाधिवेशनबाट सभापतिमा रवि लामिछानेलाई नै दोहोर्‍याउने भएको छ । पार्टी सभापतिमा लामिछानेको विकल्प नभएको रास्वपाका नेताहरूले सार्वजनिक रूपमा नै बताउँदै आएका छन् ।

रास्वपाले पार्टी स्थापनाको चार वर्षमा पहिलो महाधिवेशन गर्न लागेको हो । असार २०७९ मा लामिछानेको नेतृत्वमा स्थापित रास्वपाले पाँच महिनामै भएको प्रतिनिधिसभा निर्वाचनमा २० सिट जितेको थियो । यस्तै, पाँच महिनापछि भएको उपनिर्वाचनबाट एक सिट थपेको थियो । गत २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुईतिहाइ सिट (१८२) जितेको रास्वपाले अहिले सरकारको नेतृत्व गरिरहेको छ ।

आसन्न महाधिवेशनमा पार्टीको मूल नेतृत्व परिवर्तन हुने संकेत नरहेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । ‘पार्टी सभापति रवि लामिछाने हुनुहुन्छ । सरकारको नेतृत्व पार्टीका वरिष्ठ नेता र संसदीय दल नेता वालेन्द्र शाहले गरिराख्नुभएको छ । यो सन्तुलन मिलाएरै पार्टी अगाडि बढ्छ,’ उनले भने । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले पनि पार्टी एकताबद्ध भएर अगाडि बढिरहेको जनाउँदै पार्टी नेतृत्व लामिछानेले नै गर्ने बताए । ‘रास्वपाले नयाँ नेतृत्व खोजिरहेको छैन । नेपाली जनताले पनि सभापतिको विकल्प खोजेका छैनन्,’ उनले भने, ‘महाधिवेशनले लोकतान्त्रिक प्रक्रियामार्फत सबै वैधानिक जिम्मेवारी टुंग्याउनेछ ।

वरिष्ठ नेता शाहले पनि पार्टीको नेतृत्व लामिछानेले नै गर्ने निकटस्थहरूलाई बताएका छन् । एक नेताका अनुसार शाह महाधिवेशनमा जानेछन् र पार्टी नेतृत्व घोषणा कार्यक्रममा सहभागी हुनेछन् । अन्य पदाधिकारी पनि सहमतिबाट नै चयन गर्ने तयारी छ । त्यसका लागि प्रदेश अधिवेशन सकिएपछि छलफल हुने रास्वपाका नेताहरूको भनाइ छ ।

हाल रास्वपाले वडा र पालिका अधिवेशन गरिरहेको छ । केन्द्रीय नेताहरू पालिका अधिवेशन गराउन सम्बन्धित क्षेत्रमा खटिएका छन् । रास्वपाले पालिका र जिल्ला अधिवेशन गर्नका लागि सबै जिल्लामा केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकेको थियो । रास्वपाको केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले वडा र स्थानीय तहका अधिवेशन कार्यतालिका अनुसार नै भइरहेको जानकारी दिए ।

केन्द्रीय निर्वाचन आयोगले प्रथम महाधिवेशनको तयारीबारे ७ जेठमा जिल्ला र प्रदेश सभापतिहरूलाई कार्यतालिका पठाएको थियो । त्यसमा १५ जेठमा जिल्ला र प्रदेशमा निर्वाचन समिति गठन गरिसक्न भनिएको छ । जिल्ला र प्रदेश समितिलाई २५ जेठसम्म महाधिवेशन प्रतिनिधिको नामावली पेस गर्ने समय निर्धारण गरिएको छ । ३० जेठभित्र जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेस गर्न भनिएको छ । यस्तै ५ असारभित्र प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीको विवरण पेस गर्नुपर्नेछ ।

केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्नेबारे छलफल गर्दै छ । यसका लागि आयोगले ५ असारभित्र छलफल गर्ने तयारी छ ।

आयोगका उपप्रमुख गुरुङका अनुसार सोमबारसम्म ६ हजार ७ सय ४३ वडामध्ये करिब २८ सय वटामा अधिवेशन भइसकेको छ । ‘पालिका अधिवेशनका लागि १६ र १७ जेठ तोकिएकामा करिब ५० पालिकामा अधिवेशन भइसकेको छ,’ उनले भने, ‘सर्वसम्मत र चुनावको माध्यमबाट नेतृत्व चयन भइरहेको छ । प्रतिस्पर्धा हुँदा अब्बल नेताहरू आउँछन् । सर्वसम्मत हुँदा पार्टी एकढिक्का हुन्छ ।

रास्वपा नेता प्रकाशचन्द्र परियारका अनुसार महाधिवेशनलाई व्यवस्थित गर्न सभापति लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ । महाधिवेशनकै लागि प्रतिनिधि व्यवस्थापन, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा, आर्थिक व्यवस्थापन, प्रचारप्रसार, सुरक्षा, सूचना प्रविधि, आवास तथा भोजन, स्वास्थ्य तथा प्राथमिक उपचार, सांस्कृतिक कार्यक्रम, अतिथि सत्कार, विधान संशोधन र साजसज्जा समिति गठन गरिएका छन् ।

नेता परियारका अनुसार रास्वपाको प्रतिनिधित्व स्थानीय तहमा बाराको फेटा गाउँपालिकामा मात्रै छ । त्यस गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी र उपाध्यक्ष नीलम शाह स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । रास्वपाका प्रतिनिधिसभा सदस्य र महाधिवेशन आयोजक समिति सदस्य पनि स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । ‘महाधिवेशनमा ७७ जिल्लाबाट कम्तीमा २५ सय प्रतिनिधि सहभागी हुने अनुमान गरेका छौं,’ उनले भने, ‘प्रवास र विभिन्न विभागबाट पनि प्रतिनिधित्व हुन्छ ।

विभागतर्फ अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग, सल्लाह परिषद्, द्रुत उद्धार समूह (र्‍याट) बाट महाधिवेशन प्रतिनिधि चुनिन्छन् । महाधिवेशन प्रतिनिधिमा कम्तीमा एकतिहाइ महिला प्रतिनिधित्व हुनुपर्ने भनी निर्देशन दिइएको छ ।

रास्वपाले विधान संशोधनको गृहकार्य पनि गरिरहेको छ । २०७९ मा तयार पारिएको विधान २०८१ मा पहिलो पटक संशोधन गरिएको थियो । अहिले दोस्रो पटक संशोधनका लागि पार्टीका सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा समिति बनाइएको छ । समितिमा गणेश पराजुली, चन्दा कार्की, प्रकाशचन्द्र परियार र सुशान्त वैद्धिक सदस्य छन् । विधान संशोधन समितिको काम अन्तिम चरणमा पुगेको संयोजक आचार्यले जानकारी दिए । उनले भने, ‘हामी संशोधन गर्नुपर्ने विषयवस्तुको प्रस्ताव तयार पारेर पार्टी सचिवालय बैठकमा प्रस्तुत गर्नेछौं ।

विधान संशोधन समितिका एक सदस्यका अनुसार पदाधिकारीमा सभापति, तीन उपसभापति (कम्तीमा एक महिला), दुई महामन्त्री, तीन सहमहामन्त्री (कम्तीमा एक महिला), कोषाध्यक्ष र सहकोषाध्यक्ष तथा प्रवक्ता रहने गरी विधान संशोधन गर्नेबारे छलफल भइरहेको छ । प्रधानमन्त्री शाह पार्टीको वरिष्ठ नेता भएकाले सम्मानार्थ उक्त पद विधानमै व्यवस्था गर्नेबारे पनि छलफल भइरहेको ती सदस्यले जानकारी दिए ।

केन्द्रीय समिति हालको १२१ सदस्यीयबाट बढाएर कम्तीमा १३१ र बढीमा १५१ सदस्यीय बनाउने भन्नेबारे छलफल भइरहेको छ । पार्टी पदाधिकारी र केन्द्रीय सदस्यमा समावेशी नेपालको प्रतिनिधित्व कसरी गर्ने भन्नेबारे समिति छलफलमा रहेको ती सदस्यले बताए । अहिलेको विधानमा सभापति र केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधिले चयन गर्ने, त्यसपछि केन्द्रीय सदस्यमध्येबाट सभापतिबाहेकका पदाधिकारी केन्द्रीय सदस्यहरूले चुन्ने व्यवस्था छ । यो व्यवस्था कायमै राख्ने कि पदाधिकारी र केन्द्रीय सदस्य सबैलाई महाधिवेशन प्रतिनिधिले चुन्ने गरी विधान संशोधन गर्ने विषयमा छलफल भइरहेको विधान संशोधन समितिका अर्का सदस्यले जानकारी दिए ।

महामन्त्री भूपदेव शाहको संयोजकत्वमा गठित कार्यदलले एकता प्रक्रियाबाट आएका नेताहरूलाई कसरी समायोजन गर्ने भन्नेबारे छलफल गरिरहेको छ । ‘थरुहट, विवेकशील साझा, स्वतन्त्र व्यक्ति र अभियन्ताहरू आउनुभएको छ । विभिन्न पार्टी र राजनीतिक शक्तिबाट आउनुभएका साथीहरूको समायोजनका लागि महामन्त्री भूपदेव शाहको नेतृत्वमा रहेको कार्यदलले काम गरिरहेको छ,’ महामन्त्री कवीन्द्र बुर्लाकोटीले भने ।

प्रधानमन्त्री वालेन्द्र शाह पनि चुनावको मुखमा रास्वपामा जोडिएका थिए । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालसँग पनि रास्वपाले एकताको सहमति गरेको थियो तर त्यो एकता टुट्दा पनि कतिपय नेता उज्यालो नेपालमा नफर्किएर रास्वपामै बसेका थिए ।

महाधिवेशन आयोजक समिति सदस्य प्रदीप ज्ञवालीले महाधिवेशनबाट सक्षम र एकताबद्ध नेतृत्व चयन गर्ने गरी तयारी भइरहेको बताए । ‘जेन–जी विद्रोहपछिको निर्वाचनमा १ सय ८२ सिट ल्याएर सरकार सञ्चालन गरिरहेको हाम्रो पार्टीको प्रथम महाधिवेशन हुँदै छ,’ उनले भने, ‘अब आउने महाधिवेशनले पार्टीमा सक्षम नेतृत्व र युवाको सहभागिता सुनिश्चित गर्नेछ ।

रास्वपा महाधिवेशन चितवनमै किन ?

रास्वपाले स्थापना दिवसको छेको पारेर चितवनमा पहिलो महाधिवेशन गर्दै छ । रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले केही दिनपहिले संसद् भवन बाहिर चितवनमा महाधिवेशन राख्नुको कारणबारे भनेका थिए, ‘चितवन सबैतिरको मध्यभाग जस्तो पर्छ । अर्को, पार्टीको इपिसेन्टर, पार्टीलाई एकदमै धेरै मत आएको र पार्टी स्थापनामा एकदमै ठूलो जनमतप्राप्त जिल्ला हो । राजधानीबाट पनि नजिक, सभापतिले चुनाव त्यहाँ जित्नुभएका कारण पनि एउटा हुन सक्छ ।

पार्टी राजनीतिमा आएयता सभापति लामिछानेले चितवन–२ बाट चुनाव जित्दै आएका छन् । पछिल्लो निर्वाचनमा चितवनका अन्य दुई क्षेत्र पनि रास्वपाले जितेको छ ।

सहमहामन्त्री आचार्य चितवनसँग रास्वपाको भावनात्मक सम्बन्ध रहेको बताउँछन् । ‘रास्वपाले सम्पूर्ण देशको नेतृत्व लिन सक्छ भन्ने बोध गराउने काठमाडौं र चितवन हुन् । त्यसमा पनि चितवनले हाम्रो पार्टी जीवनमा प्रत्यक्ष र परोक्ष महत्त्वपूर्ण भूमिका राखेकाले प्रथम ऐतिहासिक महाधिवेशनका लागि चितवन रोजिएको हो,’ उनले भने ।

– जयसिंह महरा