05/27/2026, 08:30:58
बुधबार, जेठ १३, २०८३

लुम्बिनी प्रदेश सभा बैठक : आज नीति तथा कार्यक्रममाथि छलफल टुङ्गिने


गुल्मी, जेठ १३ गते। लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत आठौं बैठक बुधबार दिउँसो १ बजे बस्दैछ। बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथिको छलफल टुङ्ग्याइने कार्यसूची रहेको छ।

प्रदेश सभा सचिवालयका अनुसार बैठकको प्रारम्भमा विपक्षी दलका नेता जोख बहादुर महराले विशेष समयमा सम्बोधन गर्नुहुनेछ। त्यसपछि सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ।

प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्ने तथा छलफलको जवाफ सामाजिक विकास मन्त्री तिमिल्सिनाले दिने कार्यसूची रहेको छ। यस्तै, लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि जारी छलफलमा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्यले दिनुहुनेछ।

त्यसपछि नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश हुने र सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ। यसैगरी बैठकमा मुख्यमन्त्री आचार्यले विभिन्न आयोगका वार्षिक प्रतिवेदनहरू प्रदेश सभामा पेश गर्नुहुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

– रमेश विश्वकर्मा