काठमाडौँ, जेठ १२ गते । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विवाद समाधान र एकताका लागि ५ बुँदे प्रस्ताव अघि सारेका छन् ।
पार्टीभित्र १५औं महाधिवेशन, क्रियाशील सदस्यता अद्यावधिलाई लिएर विवाद चर्किरहेका बेला कोइरालाले सहमतिमार्फत पार्टीलाई एकताबद्ध बनाउने प्रस्ताव राखेका हुन् ।
कोइरालाले १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिलाई अनिवार्य नगर्न प्रस्ताव गरेका छन् । उनले १४औं महाधिवेशनपछि नवीकरण र वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा आगामी महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राखेका छन् ।
त्यस्तै, उनले १४औं महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै संरचना बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । कार्यसम्पादन समितिको गठनमा भने सभापतिको बहुमत रहने गरी संरचना बनाउनुपर्ने उनको सुझाव छ ।
साथै, निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति लगायतका सबै महत्त्वपूर्ण समितिहरू आपसी सहमतिबाट मात्रै गठन गर्नुपर्ने प्रस्ताव पनि उनले राखेका छन् ।
कोइरालाको यो प्रस्तावलाई पार्टीभित्र बढ्दो ध्रुवीकरण अन्त्य गर्दै महाधिवेशनको प्रक्रिया सहमतिमार्फत अघि बढाउने प्रयासका रूपमा हेरिएको छ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि वैधानिकता, क्रियाशील सदस्यता र शक्ति सन्तुलनका विषयमा विवाद बढिरहेका बेला कोइरालाले सहमतिमा आधारित संरचना निर्माणको आवश्यकता औंल्याएका हुन् ।
– कुलचन्द्र न्यौपाने
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































