सिन्धुपाल्चोक, जेठ २ गते । साहसिक जलयात्राका लागि परिचित भोटेकोशी र सुनकोशी नदीमा अपाङ्गता भएका व्यक्तिहरूले सामूहिक र्याफ्टिङ गरेका छन् । जिल्लाको पर्यटकीय क्षेत्र सुकुटेमा आयोजित कार्यक्रममा ७० जना अपाङ्गता भएका व्यक्तिले एकैपटक जलयात्रा गरेका हुन् ।
स्वावलम्बन जीवन पद्धति केन्द्र सिन्धुपाल्चोकको आयोजनामा बुधबारदेखि सुरु भएको कार्यक्रम बिहीबार बेलुकी सम्पन्न भएको हो । केन्द्रका महासचिव कृष्ण तिमल्सिनाका अनुसार कार्यक्रममा देशभरबाट १ सय ४ जना अपाङ्गता भएका व्यक्तिको सहभागिता रहे पनि स्वास्थ्य अवस्था र क्षमताका आधारमा ७० जनाले मात्रै र्याफ्टिङ गरेका थिए । सहभागीहरू शुक्रबारसम्म आ–आफ्नो स्थान फर्किसकेको उनले बताए ।
‘अपाङ्गता भएका व्यक्तिहरूका आवश्यकता, पर्यटन र खेलकुदमा समान समावेशिता’ भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको तिमल्सिनाले बताए । जलयात्राका लागि सुकुटे पर्यटन व्यवसायी संघ तथा अन्य पर्यटन व्यवसायीले बोर्ड र रिभर गाइड निःशुल्क उपलब्ध गराएका थिए ।


कार्यक्रममा फ्रिडम सोसल फाउन्डेसनसहित विभिन्न संघसंस्था र व्यक्तिले सहयोग गरेका थिए । यस कार्यक्रमले अपांगता भएका व्यक्तिले पनि साहसिक पर्यटनमा सहयोग गर्न सक्छन् भन्ने सन्देश गएको सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापाले बताए । ‘सुकुटे विच रिसोर्टबाट सुरु भएको जलयात्रा चेहेरेसम्म गरिएको थियो, यस कार्यक्रमले पर्यटनमा नयाँ आयाम थपेको छ,’ थापाले भने ।
– अनिश तिवारी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











































