05/13/2026, 17:42:32
बुधबार, बैशाख ३०, २०८३

नगर विकासका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ, वैशाख ३० गते । सुर्खेत उपत्यका नगर विकास समिति, वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिव टीकाराम ढकालसहित पाँच जनाविरुद्ध राजस्व हिनामिना गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको ठहर गर्दै उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको भाडा असुलीबापत सङ्कलन भएको चार करोड १८ लाख चार हजार ३०३ रुपियाँ राजस्वमध्ये ठुलो हिस्सा हिनामिना भएको पाइएको छ। सङ्कलित रकममध्ये एक करोड २३ लाख २५ हजार ६२२ रुपियाँ मात्र बैँक दाखिला गरी बाँकी दुई करोड ९४ लाख ७८ हजार ६८१ रुपियाँ बैँक दाखिला नगरी हिनामिना गरेको पुष्टि भएको आयोगले जनाएको छ।

आयोगले तत्कालीन सदस्य सचिव ढकालविरुद्ध ६४ लाख २८ हजार ४३७ रुपियाँ, अर्का तत्कालीन सदस्य सचिव नरहरि तिवारीविरुद्ध एक करोड चार लाख ७१ हजार ९४२ रुपियाँ र तत्कालीन सदस्य सचिव गेहेन्द्रबहादुर डाँगीविरुद्ध ७२ लाख ७८ हजार ११० रुपियाँ बिगो कायम गरेको छ।

यसैगरी, तत्कालीन लेखा अधिकृत हरिबहादुर क्षेत्रीकी श्रीमती सीमाकुमारी चन्द (क्षेत्री) विरुद्ध दुई करोड ९० लाख ९६ हजार ४४१ रुपियाँ र तत्कालीन सह–लेखापाल खड्कबहादुर रानाविरुद्ध दुई करोड ९४ लाख ७८ हजार ६८१ रुपियाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ। उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ बमोजिम सजाय र बिगो असुलको मागदाबी गर्दै बुधबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको हो।