06/10/2026, 01:34:12
मङ्गलबार, जेठ २६, २०८३

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : संयोजक प्रचण्ड


काठमाडौँ, वैशाख २९ गते । नेपाल कम्युनिस्ट पार्टीका स‌याेजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान संसद् समावेशी हुनु सहिदहरूको बलिदानको उपज भएको बताउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

सम्बोधनका क्रममा प्रचण्डले भन्नुभयो, “बाहिरबाट हेर्दा यो भवन सिमेन्ट, इँटा र फलामले बनेको देखिएला, तर यसको अन्तर्यमा हजारौँ सहिदको बलिदान रहेको छ । हरेक वर्ग, वर्ण, जाति, लिङ्ग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसद्का लागि हिजो हामीले बन्दुक उठायौँ, आन्दोलन गर्‍यौँ ।

संयोजक प्रचण्डले सङ्घीय संसद्‌मा देखिएको समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठुलो उपलब्धिको रूपमा व्याख्या गर्नुभयो । क्रान्ति, बलिदान र लामो सङ्घर्षको जगमा प्राप्त भएको यो प्रतिनिधित्वलाई उहाँले “रगतले लेखिएको कथा” को संज्ञा दिनुभयो ।

उहाँले भन्नुभयो, “परिणामका दृष्टिले को सानो वा को ठुलो भयो भन्ने कुरा गौण हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको यो प्रतिनिधिसभामा महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारू, उपेक्षित र उत्पीडित समुदायको इन्द्रधनुषी प्रतिनिधित्व हुनु मेरा लागि पार्टीको विजयभन्दा महत्त्वपूर्ण छ।

सम्बोधनका क्रममा उहाँले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको सफलतालाई स्वीकार गर्दै बधाई दिनुभयो । रास्वपासँगको सहकार्यको स्मरण गर्दै उहाँले भन्नुभयो, “अघिल्लो संसदमा मैले प्रधानमन्त्री र प्रमुख विपक्षी दलको नेताका रूपमा रास्वपासँग दह्रो सहकार्य गरेको थिएँ ।

उहाँले थप्नुभयो, “त्यसबेला सुशासन, सेवा प्रवाहको सरलीकरण, मेरिटोक्रेसी, ललिता निवास जग्गा फिर्ता र भुटानी शरणार्थी प्रकरणको अनुसन्धान जस्ता ठुला माफियाविरुद्धका कारबाहीमा हाम्रो सहकार्य रह्यो ।

यस्तै, संयोजक प्रचण्डले प्रधानमन्त्री वालेन्द्र शाहको उदयलाई पनि क्रान्तिको जितकै रूपमा व्याख्या गर्नुभयो । “बालेन्द्र शाह काठमाडौँको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नु भएको छ । पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै सङ्कल्पको जित हो,” उहाँले भन्नुभयो ।

पछिल्लो समय राजनीतिमा चर्चामा रहेको ‘पुराना र नयाँ’ को भाष्य दार्शनिक र राजनीतिक दृष्टिले गलत भएको प्रचण्डको तर्क छ । उहाँले स्पष्ट पार्दै भन्नुभयो, “सवाल पुराना र नयाँको होइन, सवाल सही र गलतको हो । यस्तो भाष्यले समाजमा विभाजन मात्र ल्याउँछ । सही र गलतको बहसले मात्र रूपान्तरणसहितको नयाँ एकताको आधार खडा गर्दछ ।

संयोजक प्रचण्डले समावेशी र समानुपातिक प्रतिनिधित्वमाथि गर्व गर्ने हक आफूलाई भएको बताउँदै शान्ति प्रक्रियाको पूर्णता अब नयाँ पुस्ताको पनि जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।

हामीबाट र इतिहासबाट सिक्नुहोस्

सरकारको आलोचना गर्ने आशय नभएको स्पष्ट पार्दै पूर्व प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम जनताको उच्च आकाङ्क्षाअनुरूप नआएको टिप्पणी गर्नुभयो ।

नीति तथा कार्यक्रम मन्त्रालयका नियमित कार्यक्रमहरूको सारसंग्रह जस्तो मात्र देखिएको छ,” उहाँले भन्नुभयो, “यसलाई विगतका कार्यक्रमहरूको आलोकमा तुलनात्मक अध्ययन गरी वर्तमान विशिष्टतामा जनताका आकाङ्क्षा सम्बोधन हुने गरी परिमार्जन गर्न म सबै माननीयज्यूहरूलाई आग्रह गर्दछु ।

उहाँले विगतमा तत्कालीन नेकपा पनि सोही आकारमा रहेको स्मरण गर्दै भन्नुभयो, “सङ्ख्या कहिल्यै स्थायी हुँदैन, न त जनताको समर्थन निःशर्त हुन्छ । यो हामीबाट र इतिहासबाट सिक्नुहोस् ।” “जनताले सुम्पेको जिम्मेवारी पूरा गर्नुहोस्, हाम्रो साथ र समर्थन रहन्छ,” उहाँले भन्नुभयो, “राष्ट्र निर्माण सामूहिकताबाट मात्र सम्भव छ ।

उहाँले सरकार र संसद्का सबै सदस्यहरूलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभयो ।