04/23/2026, 21:16:12
बिहिबार, बैशाख १०, २०८३

खानेपानीका तत्कालीन कार्यालय प्रमुखविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा


काठमाडौँ, वैशाख १० गते । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख तथा इन्जिनियर किशोरीप्रसाद यादवविरुद्ध एक करोड ४६ लाख ८१ हजार २२५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सार्वजनिक सेवाको पदमा रहँदाका बखत गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी सो रकम भ्रष्टाचार गरेको आरोप लागेको छ ।

निज यादव सार्वजनिक पदमा नियुक्ति भएको मिति २०४७ असार ३१ गतेदेखि २०८० पुस २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी निज तथा निजको एकाघर परिवार संगोलमा रहेका व्यक्तिहरुले उपर्युक्त अवधिमा विभिन्न आयस्रोतहरुबाट कानुनी रुपमा आर्जन गरेका वैधानिक आय तीन करोड ४६ लाख २१ हजार ४०१ रुपियाँ देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, सोही अवधिमा निजको जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारी साधन खरिद, अध्ययन खर्च, ऋण सापटी, बैङ्क मौज्दात गरी जम्मा चार करोड ९३ लाख दुई हजार ६२६ रुपियाँ कुल व्यय देखिएको छ ।

समग्रमा कुल आयभन्दा बढी देखिएको कुल व्ययतर्फको स्रोत नखुलेको एक करोड ४६ लाख ८१ हजार २२५ रुपियाँ बिगो रकम कायम गरी निजको श्रीमती निर्मला कुमारीविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिइ बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।