04/21/2026, 14:41:13
मङ्गलबार, बैशाख ०८, २०८३

क्षतिग्रस्त विपी राजमार्ग : जोखिमपूर्ण यात्रा र पुनर्निर्माण चुनौती


बनेपा, वैशाख ८ गते ।  वि.सं. २०८१ असोज १० देखि १२ गतेसम्म आएको बाढी–पहिरोका कारण पूर्वी पहाडी तथा तराई जिल्ला जोड्ने विपी राजमार्ग अन्तर्गत भकुण्डे (१ नम्बर पुल) देखि सिन्धुलीको नेपालथोकसम्मको करिब २८ किलोमिटर सडकमा क्षति पुगेको थियो। सोमध्ये सबैभन्दा बढी काभ्रेपलाञ्चोक खण्डतर्फ करिब २५.११ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको हो।

बाढीपछि डेढ वर्षदेखि राजमार्ग प्रयोग गर्ने यात्रु तथा चालकले दैनिक सास्ती भोग्दै आएका छन्। विशेष गरी वर्षायाममा यात्रुहरूले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने अवस्था रहेको छ। रोसी खोलाको किनारै-किनार बनेको राजमार्ग पुनर्निर्माण सम्पन्न नभएसम्म आगामी झण्डै डेढ वर्षसम्म जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था देखिएको छ।

सडक तत्काल सञ्चालन गर्न चौकीडाँडादेखि नेपालथोकसम्म खोला किनारमा डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको छ। तर वर्षा हुँदा रोसी खोलाको बहाव बढेर डाइभर्सन बगाउने भएकाले घण्टौँसम्म यातायात अवरुद्ध हुने गरेको छ। एम्बुलेन्स लगायत अत्यावश्यक सवारीसमेत प्रभावित हुने गरेका छन्।

सडक डिभिजन भक्तपुरका अनुसार बाढीबाट क्षतिग्रस्त भकुण्डे (१ नम्बर पुल) देखि काभ्रेपलाञ्चोक–सिन्धुली सीमाको बर्खेखोलासम्म डेडिकेटेड डबल लेन स्ट्यान्डर्ड सडक निर्माण भइरहेको छ। सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार काभ्रेपलाञ्चोक खण्डमा तीन वटा प्याकेजमा काम भइरहेको छ भने अर्को प्याकेज सुरु हुने चरणमा छ। वर्षायामअघि संरचना निर्माण सम्पन्न गरी कम्तीमा ग्राभेल स्तरसम्म सडक सञ्चालन गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो।

वर्षामा पुनः यातायात अवरुद्ध

बाढीपछि तत्काल यातायात सञ्चालनका लागि ग्राभेल हालेर अस्थायी रूपमा सडक खुलाइएको थियो। पछि डाइभर्सनमार्फत यातायात सञ्चालन गरिएको हो। तर खोलाको किनारबाट सञ्चालन भएकाले वर्षा हुँदा डाइभर्सन बग्ने र यातायात अवरुद्ध हुने गरेको छ।

सडक विभागका प्रवक्ता उपमहानिर्देशक श्यामबहादुर खड्काले पुनर्निर्माण अवधिमा अस्थायी डाइभर्सन प्रयोग गरिएकाले वर्षा हुँदा अवरोध हुने गरेको बताउनुभयो। सडक डिभिजन भक्तपुरका इन्जिनियर शङ्कर खनालका अनुसार अन्य वैकल्पिक मार्ग सम्भव नभएकाले वर्षायाममा समस्या दोहोरिने गरेको हो।

रोसी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले पनि सामान्य वर्षामा समेत डाइभर्सन बग्ने समस्या रहेको बताउँदै पुनर्निर्माणलाई तीव्रता दिन आग्रह गर्नुभएको छ।

पुनर्निर्माण नै दीर्घकालीन समाधान

सडक विभागका अनुसार विपी राजमार्गको पुनर्निर्माण दुई वर्षे योजनाअन्तर्गत अघि बढाइएको छ। काभ्रेपलाञ्चोकतर्फ चार प्याकेजमा र सिन्धुलीतर्फ एक प्याकेजमा काम भइरहेको छ।

काभ्रेपलाञ्चोक खण्डमा पिप्ले–डालाबेसी, डालाबेसी–चारसयबेसी र चारसयबेसी–भकुण्डे खण्डमा क्रमशः २४, ३२ र ३० प्रतिशत काम सम्पन्न भएको छ। उक्त खण्डमा सडक विस्तार, टेवा पर्खाल, आरसिसी पर्खाल, ग्याबियन पर्खाल तथा अन्य संरचना निर्माण भइरहेको छ।

बाढीले क्षति गरेको काभ्रेपलाञ्चोक खण्ड पुनर्निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग करिब ३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको ठेक्का सम्झौता भएको छ। बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर खण्ड जाइकामार्फत निर्माण भइरहेको छ। सडक डिभिजनले पुनर्निर्माण सम्पन्न नभएसम्म यात्रुले हालको जस्तो समस्या भोग्नुपर्ने जनाएको छ।

विपी राजमार्गको महत्त्व

पूर्वी पहाड र तराई जोड्ने वैकल्पिक मार्गका रूपमा विकसित यो सडक योजना २०५३/५४ सालदेखि जापान सरकारको सहयोगमा निर्माण सुरु भएको थियो। २०७२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको यो राजमार्ग हाल देशको महत्वपूर्ण यातायात मार्गमध्ये एक हो।

– केदार तिमल्सिना