04/13/2026, 08:57:06
सोमबार, चैत ३०, २०८२

जातीय छुवाछुत मुद्दामा औरहीकी एक महिला पक्राउ


गौशाला (महोत्तरी), चैत ३० गते । अन्तरजातीय विवाह गरेको कारण जातीय छुवाछुत तथा अमानवीय व्यवहार  गरेको कसुरमा महोत्तरीको एक महिलालाई पक्राउ गरिएको छ।

औरही नगरपालिका–५ निवासी ४५ वर्षीया वविता देवी जातीय छुवाछुत तथा अमानवीय व्यवहार सम्बन्धी मुद्दामा पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गत माघ ८ गते दर्ता भएको मुद्दापछि फरार रहेकी उनलाई लुकिछिपी बसेको अवस्थामा घरबाटै नियन्त्रणमा लिइएको हो।

उक्त मुद्दा उहाँकी बुहारी इन्द्रा कुमारी मण्डलले दिनुभएको जाहेरीका आधारमा दर्ता भएको हो। इन्द्रा कुमारी मण्डलका अनुसार आफूले नावालक सन्तानसहित घर प्रवेश गर्न खोज्दा सासुले “कुलदेवता रिसाउने” भनी कुटपिट गर्दै घरभित्र प्रवेश गर्न नदिनुका साथै जातीय रूपमा अपमानजनक व्यवहार गर्नुभएको आरोप लगाइएको छ।

इन्द्राका श्रीमान् मेघनाथ यादव हाल सम्पर्कविहीन रहनुभएको जनाइएको छ। उहाँले श्रीमान सहित परिवारका अन्य सदस्यविरुद्ध अंश मुद्दासमेत दर्ता गर्नुभएको छ।

महोत्तरीकै औरही–३, श्रीपुर निवासी इन्द्रा कुमारी मण्डलले सासुको पक्राउपछि न्याय पाउने आशा व्यक्त गर्नुभएको छ। उहाँका अनुसार फागुन १२ गते जन्मिएको शिशुले हालसम्म आफ्नै बाबुको अनुहार समेत देख्न पाएको छैन। मेघनाथ यादवसँग भागेर विवाह गरेकी इन्द्राको अनुसार सासुले श्रीमानलाई आफूबाट टाढा राखेको र आफूलाई घरमा प्रवेश गर्न दिएको छैन ।

इन्द्राले भन्नुभयो, “आफूहरु विहे गर्ने बेला दुवैजना नाबालिक १७ वर्षको नै भएको हुँदा कानुनी प्रक्रिया सहज नहुँदा केही समय भारतको कन्हमा क्षेत्रमा बसोबास गर्दै आएका थियौं । तर सासु बविता देवी त्यहाँ पुगेर श्रीमानलाई “सामान किनिदिन्छु” भनी बजार लैजानुभएको र उतै लुकाएर राख्नु भएको छ। मेरो श्रीमानलाई सासुले लिएर गएपछि अहिले सम्म मैले अनुहार समेत हेर्न पाएको छैन । उक्त समयमा आफू छ महिनाकी गर्भवती रहेको  उहाँले जानकारी दिनुभयो।

श्रीमान् नफर्किएपछि आफू घर पुग्दा “तल्लो जातकी छोरी” भन्दै घरमा प्रवेश गर्न नदिइएको र अमानवीय व्यवहार गरिएको उहाँले गुनासो गर्नुभयो। इन्द्रा भन्नुहुन्छ, “ श्रीमान मेघनाथ मलाई असाध्यै माया गर्ने भएपनि आमा बुवाको अगाडी उहाँको केहि नचलेको र जबरजस्ती उहाँलाई भारत कै कुनै स्थानमा आमाले लुकाएर राखेको र उतै बन्देजमा पारेको छ। त्यसैले उहाँको अवस्था समेत अज्ञात रहेकोले मेरो सम्पर्कमा समेत आउन सकेको छैन।’’

उहाँले प्रहरीसमक्ष जाँदा बलात्कार मुद्दा दर्ता गर्न सुझाव दिइएको भए पनि आफूले सो मुद्दा दर्ता नगरेको उल्लेख गर्नुभयो। प्रेम गरेर भएको विवाहका बाबजुद न्याय प्राप्तिका लागि अन्य विकल्प अपनाउनुपर्ने अवस्था आउनु दुःखद रहेको उहाँको भनाइ छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ। जातीय विभेद तथा अमानवीय व्यवहारजस्ता संवेदनशील विषयमा कानुनी प्रक्रिया अगाडि बढाइएको र अन्य संलग्न व्यक्तिको भूमिकासमेत अनुसन्धानको दायरामा ल्याइने जनाइएको छ।

यस घटनाले समाजमा अझै विद्यमान जातीय विभेद, बालविवाह तथा पारिवारिक हिंसाका समस्या उजागर गरेको छ। सरोकारवालाहरूले यस्ता घटनाको अन्त्यका लागि प्रभावकारी कार्यान्वयन र पीडितलाई न्याय सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

– अजय शाह