04/07/2026, 16:40:43
मङ्गलबार, चैत २४, २०८२

आलु उत्पादन वृद्धि हुने आशामा किसान उत्साहित


रसुवा, चैत २४ गते ।  चैत महिनामा परेको वर्षाले यहाँका किसान यस वर्ष आलु उत्पादन बढ्ने आशामा उत्साहित देखिएका छन् ।

सोमबार परेको वर्षा र हिमपातले आलु बालीलाई आवश्यक चिस्यान पुगेकाले उत्पादन वृद्धि हुने आशा उत्तरी रसुवाका किसानको छ । उच्च भेगमा परेको हिउँले जमिनमा प्राकृतिक चिस्यान कायम राख्दा आलु खेतीलाई विशेष फाइदा पुग्ने बताइएको छ । उत्तरी रसुवाको गतलाङ क्षेत्रमा उल्लेख्य मात्रामा हिमपात भएको स्थानीय किसान मार लामाले बताए।

 

विगत चार वर्षदेखि माथिल्लो क्षेत्रमा मात्र सीमित हिमपात यस पटक गाउँ आसपाससम्म देखिनु सकारात्मक रहेको स्थानीयको भनाइ छ । हाल आलु बाली गोडमेल गरी दाना लाग्ने चरणमा छ । यही समयमा परेको वर्षाले बोटलाई आवश्यक चिस्यान प्रदान गरेको हो ।

गतलाङ क्षेत्रमा आलु खनेपछि बन्दागोभी खेती गर्ने प्रचलन छ । यसका कारण यहाँ उत्पादन हुने आलु असारदेखि बजारमा आउने किसानले बताएका छन् । जसले किसानलाई थप आम्दानीको अवसर सिर्जना गरेको छ ।

कृषि विकास कार्यालय रसुवाले २०५० सालमा गतलाङ क्षेत्रलाई आलुको पकेट क्षेत्र घोषणा गरेपछि त्यहाँका ५०० भन्दा बढी घरपरिवारको आलु प्रमुख नगदे बाली हो । आलु बिक्री गरेर किसानले चामल खरिद गरी ल्याउने गरेका छन् । यस वर्ष ३०० ट्रकभन्दा बढी आलु उत्पादन हुने  किसानले  अनुमान गरेका छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..