04/05/2026, 22:02:28
आइतबार, चैत २२, २०८२

आयल निगमलाई भुक्तानी समस्या


काठमाडौँ, चैत १९ गते । नेपाल आयल निगम पछिल्लो समय निरन्तर घाटामा गएर तेल खरिद गरेको रकम भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ । पश्चिम एसियामा भएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा त्यसको असरले निगम घाटामा गएको हो ।

तेलको मूल्य बढेर आए पनि त्यस अनुसार स्थानीय बजारमा मूल्य समायोजन नहुँदा निगम पाक्षिक रूपमा १३ अर्ब रुपियाँ घाटामा गएको छ । युद्धका कारण पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भई इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्य बढेर आए पनि समायोजन हुन सकेको छैन । जसका कारण पनि १५ दिनमा १३ अर्ब ३१ करोड रुपियाँ घाटा हुने देखिएको निगमले जनाएको छ ।

निगमले मूल्य स्थिरीकरण कोषबाट घाटा रकम व्यवस्थापन गर्दै आएको छ । कोषमा रहेको रकम सकिन थालेकाले इन्धनको मूल्य नबढाई भुक्तानी गर्न नसक्ने अवस्था आएको निगमले जनाएको छ । निगमका अनुसार यसअघि तेल खरिद गरेबापत आइओसीलाई १५ दिनमा २२ अर्बदेखि २५ अर्ब रुपियाँ भुक्तानी गर्दै आएकोमा अहिले मूल्य बढेकाले २६ अर्बदेखि २७ अर्ब रुपियाँ पुगेको छ । निगमले आइओसीलाई १५/१५ दिनमा तेल खरिद गरेको रकम भुक्तानी गर्दै आएको छ ।

निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले घाटा बढ्दै गएपछि विकल्पबारे मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिनुभयो । निगमले विगतमा भएको नाफाबाट केही प्रतिशत रकम मूल्य स्थिरीकरण कोषमा राखेको थियो । अहिलेसम्म सो फन्डको प्रयोग गरेर धानिएको भए पनि अब भने अन्य विकल्पमा जानु अत्यावश्यक भएको उहाँको भनाइ छ । “अब एक साताभन्दा बढी धान्न सक्ने अवस्था छैन,” भट्टले भन्नुभयो, “सरकारले पैसाको जोहो गर्नुपर्ने हुन्छ कि मूल्य बढाउनुपर्ने हुन्छ ।

निगमका प्रवक्ता मनोज ठाकुरले तेलको मूल्य बढेर आए पनि सोही मूल्य अनुसार समायोजन नहुँदा निगमको घाटा बढ्दै गएको जानकारी दिनुभयो । “कोषमा भएको १७ अर्ब रुपियाँ सकिइसक्यो,” मूल्य समायोजन गरिएन भने समयमा भुक्तानी गर्न नसक्दा तेलको आपूर्तिमा समस्या पर्ने देखिन्छ ।

दैनिक निगम एक अर्ब रुपियाँ घाटामा गएको र कोषमा भएको रकम रत्तिँदै गएकाले समयमा आइओसीलाई भुक्तानी गरिएन भने ब्याज बढ्ने र आपूर्तिमा अवरोध हुन सक्ने उहाँको भनाइ छ । उपभोक्ताको हितलाई ध्यानमा राखेर मूल्य बढेर आए पनि समायोजन नगरिएकाले इन्धनको खपत घटाउनेतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ । युद्धका कारण एक महिनाअघि देखि अन्तर्राष्ट्रिय बजारमा निरन्तर कच्चा तेलको मूल्य बढिरहेको छ ।

आइओसीले मङ्गलबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोल लिटरमा ४१ रुपियाँ ६० पैसा, डिजेलमा ९४ रुपियाँ ३३ पैसा, हवाई इन्धन आन्तरिक प्रतिलिटरमा १२३ रुपियाँ मूल्य बढेर आएको छ । यस्तै खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १९० रुपियाँ बढेर आएको निगमले जनाएको छ । मूल्य बढेर आए पनि निगमले मङ्गलबार हवाई इन्धनको मूल्य मात्र बढाएको थियो ।

हवाई इन्धन आन्तरिक प्रतिलिटरमा १२४ रुपियाँ बढाएर २५१ रुपियाँ पुगेको छ । यस्तै हवाई इन्धन बाह्यमा प्रतिकिलोलिटर ८१९ अमेरिकी डलर बढाएर एक हजार ७१६ अमेरिकी डलर पुगेको छ । छ दिनअघि निगमले डिजेल र पेट्रोल प्रतिलिटरमा १५/१५ रुपियाँ मूल्य बढाएको थियो ।

पछिल्लो तीन वर्षदेखि नाफामा गएको निगम अहिले आएर तेल किन्न नसक्ने अवस्थामा पुगेको छ । निगम आव २०७९/८० मा देखि चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनासम्म निगम नाफामा रहेको थियो । आव २०७८/७९ मा ४८ अर्ब ९५ करोड रुपियाँ घाटा रहेको थियो । त्यस्तै आव २०७७/७८ मा ५९ करोड घाटामा थियो ।

– लक्ष्मी सापकोटा