08/16/2026, 18:16:05
आइतबार, साउन ३१, २०८३

पोखरा–जोमसोम नियमित हवाई उडान स्थगित


मुस्ताङ, साउन ३१ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–३ मा अवस्थित रणनीतिक महत्त्वको जोमसोम विमानस्थलमा अहिले नियमित उडान ठप्प बनेको छ। प्रतिकुल मौसम, लगातारको हुस्सु तथा वर्षाका साथै पर्यटकीय ‘अफसिजन‘ सुरु भएकाले निजी वायुसेवा कम्पनीहरूले पोखरा–जोमसोम मार्गका नियमित हवाई उडानहरू हालका लागि स्थगित गरेका हुन्।

उडान रोकिएपछि मुस्ताङ भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकका साथै स्थानीय बासिन्दाहरू प्रभावित भएका छन्। हवाई सेवा अवरुद्ध भएसँगै यात्रुहरू जोखिमपूर्ण र लामो समय लाग्ने सडक मार्ग प्रयोग गरेर यात्रा गर्न बाध्य भएका छन्।

मौसममा सुधार आउने र पर्यटकीय सिजन सुरु भएपछि मात्र पोखरा-जोमसोम उडान पुनः नियमित रूपमा सञ्चालनमा ल्याइने वायुसेवा कम्पनीहरूले जनाएका छन्। तत्कालका लागि भने यात्रुहरूलाई वैकल्पिक यात्राको माध्यम अपनाउन आग्रह गरिएको छ।