08/13/2026, 10:44:03
बिहिबार, साउन २८, २०८३

बुुटवल–नारायणगढ सडक निर्माण ९५ प्रतिशत सम्पन्न, सहज बन्दै यात्रा


कावासोती, साउन २८ गते । राष्ट्रिय गौरवको आयोजना बुुटवल–नारायणगढ सडकको निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ । चौथो पटक म्याद थपिएको यो सडकको कुल ११३ किलोमिटर क्षेत्रको निर्माण अन्तिम चरणमा पुगेसँगै राजमार्गको यात्रा सहज बन्दै गएको छ । २०७५ सालदेखि सुरु गरिएको यस सडकलाई पूर्वी (६५ किमी) र पश्चिम (४८ किमी) गरी दुई खण्डमा बाँडेर काम अघि बढाइएको छ।

पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डको भौतिक प्रगति ९७ प्रतिशत र वित्तीय प्रगति ९४ प्रतिशत पुगेको छ । त्यस्तै पश्चिमी खण्डका सूचना अधिकारी इन्जिनियर विकास खनालका अनुसार पश्चिम खण्डको भौतिक प्रगति ९६.५ प्रतिशत र वित्तीय प्रगति ९२ प्रतिशत छ । हालसम्म सडकको ६५ किलोमिटर कालोपत्रे भइसकेको छ भने मुख्य सास्ती हुने दाउन्नेको उकालोमा ४ किलोमिटर सडक ढलाइ सम्पन्न भएको छ । साथै दुवै खण्डका साना-ठुला गरी सबै ३४ वटा पुलहरू निर्माण भई सञ्चालनमा आइसकेका छन् ।

अहिले बजार क्षेत्रहरू (कावासोती, दलदले, गैँडाकोट, अरुणखोला, चोरमारा, बुटवल, भुमही र बर्दघाट) मा सर्भिस लेन, सडक डिभाइडर, रङरोगन तथा सुरक्षाका बाँकी कामहरू भइरहेका छन् । दाउन्ने खण्डमा हरियाली प्रवर्द्धन र धुलो नियन्त्रण गरी यात्रा थप सहज बनाइएको छ । एसियाली राजमार्गको मापदण्डमा निर्माण भइरहेको यस सडकको कुल बजेट १६ अर्ब ९९ करोड रुपियाँ रहेको छ ।