

मुगुको सदरमुकाम गमगढीमा खानेपानी आपूर्ति अवरुद्ध हुँदा स्थानीयको जनजीवन प्रभावित भएको छ। धारामा पानी नआएपछि बजारवासीसँगै विद्यार्थी, कर्मचारी, व्यवसायी र विभिन्न कामका लागि सदरमुकाम आउने सेवाग्राहीसमेत समस्यामा परेका छन्।
खानेपानीको अभावमा टाढाबाट पानी ओसार्नुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ। लामो समय पानी नआउँदा शौचालय प्रयोग, सरसफाइ तथा दैनिक घरायसी काम प्रभावित भएका छन्। होटल तथा चिया पसल सञ्चालकलाई समेत पानीको अभावले व्यवसाय सञ्चालनमा कठिनाइ भएको छ।
गमगढी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अनुसार ताल्चामा गएको सुख्खा पहिरोका कारण करिब ५० मिटर पाइप क्षतिग्रस्त भएपछि आपूर्ति रोकिएको हो। क्षतिग्रस्त पाइप मर्मतको काम भइरहेको र मर्मत पूरा भएपछि पानी सञ्चालन गर्ने तयारी रहेको समितिले जनाएको छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय मुगुले पनि समस्या छिटो समाधान गरी खानेपानी सेवा नियमित गराउन सम्बन्धित पक्षसँग समन्वय भइरहेको जनाएको छ। स्थानीयवासीले तत्काल आपूर्ति सुचारु गर्नुका साथै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन भरपर्दो वितरण प्रणाली र दीर्घकालीन व्यवस्थापनको माग गरेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























