08/10/2026, 22:12:10
सोमबार, साउन २५, २०८३
तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६

भाषा जोगाउनु नै सभ्यता र पुर्खाको ज्ञान जोगाउनु हो : कानुनमन्त्री गौतम


काठमाडौँ, साउन २५ गते ।काठमाडौँमा आयोजित ‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले भाषाको संरक्षण र प्रयोगमा जोड दिनुभएको छ। उहाँले कुनै पनि भाषा प्रयोगमा नआए लोप भएर जाने उल्लेख गर्दै भाषालाई जीवन्त राख्नु भनेको हाम्रो सभ्यता, संस्कृति र पुर्खाहरूको अमूल्य ज्ञानलाई अगाडि बढाउनु रहेको बताउनुभयो।

देशका हरेक कुनाकाप्चासम्म राज्यका सूचनाहरू सहजरूपमा पुग्न नसकेको स्वीकार गर्दै मन्त्री गौतमले यो दूरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषी पत्रकारहरूको काँधमा रहेको बताउनुभयो। सूचनाको पहुँचबाट टाढा रहेका नागरिकहरूलाई सञ्चार माध्यममार्फत मूलधारमा ल्याउन मातृभाषी पत्रकारहरूले खेलेको भूमिकाको उहाँले उच्च प्रशंसा गर्नुभयो।

मातृभाषी पत्रकारहरूलाई आफू पेलिएको वा हेपिएको महसुस नगर्न आग्रह गर्दै उहाँले समाज र सञ्चार क्षेत्रमा देखिएका कमीकमजोरीमा सबैले आत्मसमीक्षा गरेर सुधारको बाटोमा जानुपर्नेमा जोड दिनुभयो। राज्यले पनि आफ्नो तर्फबाट सूचनाको पहुँच विस्तारका लागि निरन्तर पहल गरिरहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।